म्याग्दीको घतानबाट बसाइँ सर्‍यो दुर्लभ ‘किङ कोब्रा’

आइतबार, वैशाख २४, २०८०

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–९ घतानको एक घरमा वैशाख पहिलो साता देखिएको ‘किङ कोब्रा’ अर्थात राजनाग अहिले बसाइँ सरेर अन्यत्र गएको छ ।

वैशाख ६ गते साँझ घतानका टेकबहादुर खड्काको घरको पिँडीमा दुर्लभ मानिएको राजनाग (किङ कोब्रा) देखिएको थियो । त्यसअघि २०७६ सालको जेठमा पनि घतानकै कोशेपानीको जङ्गलमा किङ कोब्रा फेला परेको र चार वर्षसम्म नदेखिएको बेनी नगरपालिका–९ घतानका वडाअध्यक्ष चक्रबहादुर केसीले जानकारी दिए ।

चार वर्षपछि वैशाख ६ गते घरको पिँडीमा देखिएको उक्त किङ कोब्रा अहिले भने घतानमा कतै पनि नदेखिएकाले बसाइँ सरेको हुनसक्ने उनको भनाइ छ ।

विगत नौ वर्षदेखि पक्षी तथा जङ्गली प्राणीहरूको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्तीर्ण) केशव चोखालले नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रहरूमा फाट्टफुट्ट देखिन थालेको बताए ।

प्राणी शास्त्रका अध्येता चोखालले मानिसको कोलाहलका कारण असुरक्षित महसुस गरी बसाइँ सरेको हुनसक्ने बताए । चोखालले यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक रहेको जानकारी दिए ।

नेपालीमा राजनाग, कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ‘ओपीओपगुस हन्नह’ हो । यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने सर्प भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुनसक्ने चोखालको अनुमान छ । यो अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले टोकेको जानकारी भने नरहेको उनले बताए ।

यो सर्पलाई नचलाउने, नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालको भनाइ छ । म्याग्दीमा २०७६ सालमा भेटिएको सो किङ कोब्रा अर्थात राजनाग नै भएको किङ कोब्राका विशेषज्ञ एवं हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका थिए । 

चोखालका अनुसार नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्राको सङ्ख्या अत्यन्त न्यून रहेको छ । यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो । चोखालले यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ वटा देशमा मात्रै पाइन्छ । विश्वका १६ वटा देशमा पाइने भए पनि थाइल्याण्डको जङ्गली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातिमा रहेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार