‘चलचित्र र क्यानभास’ आपसी सम्बन्धित विधा

आइतबार, वैशाख २४, २०८०

काठमाडौँ– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आज ‘चलचित्र र क्यानभास’ आपसी सम्बन्धका विषमया परिचर्चा गरिएको छ । 

अग्रज चलचित्रकर्मी नीर शाहले क्यानभास आफैँमा अनेक थरी अर्थ बोकेको वस्तु भएको बताए । रङविहीन हुनु पनि एउटा रङ हो भन्दै उनले प्रत्येक रङको एक किसिमको प्रतीकात्मक बुझाइ हुने बताए । 

उनले चलचित्रकर्मीले रङलाई कोरा रङकै रुपमा मात्र बुझ्न नहुने भएकाले चलचित्र र रङबीच प्रगाढ सम्बन्ध रहेको बताए । “प्रत्येक चित्रकारले कोरेका चित्रहरु सल्बलाउन थाले भने अथवा बोल्न थाले भने त्यो चलचित्र बन्छ”, उनले थपे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘चित्रकलामा चलचित्र र चलचित्रमा चित्रकला’ विषयमा आफ्नो धारणा राखे ।  उनले यस कार्यक्रमपछि आफू पुनः जागृत भएर चित्र रचना गर्नेतर्फ अग्रसर हुने बताए । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले चलचित्रलाई साहित्य, कला र सङ्गीतको समुच्च विधाका रुपमा व्याख्या गरे । उनले भने, “यो विधामा ललितकलाको पनि उपस्थिति रहेको हुन्छ, तर यसमा त्यति बहस भएको देखिन्न, त्यसैलाई सम्बोधन गर्न हामीले यस कार्यक्रम गरेका हौँ ।” उनले आगामी दिनमा चलचित्रमा ललितकलाका विषयलाई पनि समेट्न आग्रह गरे ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चलचित्रलाई फराकिलो दायरामा लैजानुपर्ने आवश्यकता औँल्याए । उनले भने, “चलचित्र सिरियस जब हो, चलचित्रले सम्पूर्ण विधालाई समेट्न सक्छ, त्यसलाई प्रस्तुत गर्न सक्छ, वास्तु, रङ्ग, कला इत्यादिमार्फत हामी ललितकलासँग जोडिएका हुन्छौँ, त्यसलाई बुझेर प्रयोग गर्न सके चलचित्र अझ मजबुत बनाउन सकिन्छ ।” उनले आगामी दिनमा पनि यस विषयमा बहस जरुरी रहेको बताए ।

छायाँकार दीपक बज्राचार्यले चलचित्रको एलिमेन्ट्स र चित्रमा प्रयोग गर्ने एलिमेन्ट्स मिल्ने बताए । उनले रङ हार्मोनीमा चलचित्रकर्मीले काम गर्न नसकेको बताए । चलचित्र निर्देशक रक्षा सिंह राणाले क्यानभासलाई आफूले एउटा भिजन भनेर बुझ्ने बताए । उनले आर्टिस्टले क्यानभासमा जे गर्छन् चलचित्रमा गर्ने त्यही भएको तर माध्यम मात्र फरक हो भने । 

कलाकार अशोकमान सिंहले रङ आफैँमा संवेदनशील हुने बताए । उनले हरेक रङले जीवनमा प्रभाव पारिरहेको धारणा राखे । रङ्ग संयोजक कपिल पराजुलीले इलेक्ट्रिकल्ली जेनेरेटेड कलर र प्राकृतिक कलर मिलाउन खोज्दा गाह्रो हुने गरेको धारणा राखे । उनले चित्रकलालाई नाङ्गो आँखाले हेर्न सकिने भए पनि चलचित्र त्यस्तो नभएको प्रतिक्रिया दिए ।

कला निर्देशक निर्जल श्रेष्ठले क्यानभासै क्यानभासको संयोजन नै चलचित्र भएको बताए । उनले भने, “क्यानभास चल्दैन, चलचित्र चल्छ । क्यानभासले मुलुकको वैभवता, सभ्याता र संस्कृति देखाउँछ ।”  

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले चलचित्र पनि ललितकलाको विधामा पर्ने बताए । उनले एउटा कलाले जिन्दगी बताउन सक्छ, त्यसलाई हेर्ने नजर चाहिन्छ भने ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्