अमेरिका जाने लोभमा करोडौँ फस्यो, फरारमध्य बास्तोला पक्राउ

आइतबार, वैशाख २४, २०८०

काठमाडौँ– अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ ।

पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीमा आएका छन् । 

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेका भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

ती ठगी गर्ने समूहले मासिक चार लाख बढी तलब हुने भनी विश्वास दिलाई प्रतिव्यक्ति ३० लाख रुपैयाँ खर्च लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने लोभ देखाएर ठगी गरेका भेटिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

गिरोहले पीडितहरुबाट पटकपटक गरी जम्मा तीन करोड ५६ लाख आठ हजार रुपैयाँ लिएर फरार भएकामा वैदेशिक रोजगार विभागको अनुरोधमा यसरी फरार भएकामध्य भक्तपुरका सीताराम बास्तोलालाई आज पक्राउ गरिएको रेग्मीले बताए । 

उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्