चार्ल्स तृतीय र क्यामिलालाई विश्वका नेताहरूद्वारा बधाई

आइतबार, वैशाख २४, २०८०

काठमाडौं– संयुक्त राज्य अमेरिका, चीन, युरोपेली मुलुकलगायतका देशका नेताहरूले बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् । चीनले ‘सहयोग’ र ‘शान्ति’का लागि आह्वान गरेको छ ।

अमेरिकाका राष्ट्रपति जो वाइडेनले लण्डनमा आयोजित भव्य समारोहमा प्रतिनिधित्व गर्दै प्रथम महिला जिल बाइडेनले प्रत्यक्ष उपस्थित भई उनीहरूलाई बधाई दिएको बताएका छन् । उनले अमेरिका र बेलायतबीचको स्थायी मित्रताप्रति सद्भाव व्यक्त गरेका छन् । 

उनले ट्वीट गर्दै दुई देशको सम्बन्ध जनताका लागि शक्तिको स्रोत भएको बताएका छन् । शुक्रबार प्रसारित एक अन्तर्वार्तामा उनले जुलाईमा ७४ वर्षीय चार्ल्सलाई भेट्ने र विशेष गरी वातावरणीय विषयमा कुरा गर्ने बताएका छन् । 

चीनका राष्ट्रपति सी चिनफिङले राजा को कार्यकालको सफलताको कामना गर्दै बेलायतलाई ‘स्थिर र पारस्परिक लाभका लागि काम गर्न’ आग्रह गरेका छन् । 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का दुवै स्थायी सदस्य चीन र बेलायतले शान्ति, विकास र सबैको विजय ऐतिहासिक प्रवृत्तिलाई संयुक्त रूपमा अगाडि बढाउन दीर्घकालीन र रणनीतिक दृष्टिकोण अपनाउनुपर्ने उनले बताए । 

युरोपेली संघ (ईयू)की कार्यकारी प्रमुख, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले राज्याभिषेकलाई ‘बेलायती राजशाहीको स्थायी शक्तिको प्रमाण’ भनेका छन् । 

भोन डेर लेयेनले वेस्टमिन्स्टर एबेमा आयोजित भव्य समारोहमा आफ्नो तस्बिरसहित ट्वीट गर्दै लेखेका छन्, ‘स्थिरता र निरन्तरताको प्रतीक ।’

ईयू परिषद्का अध्यक्ष चार्ल्स मिसेलले सन् २०१६ मा बेलायतले ईयूबाट बाहिरिने पक्षमा मतदान गरेको २७ राष्ट्रको समूहका सदस्यराष्ट्रले समझदारी र सम्मानलाई बढावा दिने राजाको विशाल अनुभव र पृथ्वीको दिगोपनलाई बढावा दिन गरेको अथक प्रयासको सराहना गरेको बताए । 

भ्रमणका लागि केन्या पुगेका जर्मन चान्सलर ओलाफ स्कोल्जले पनि जलवायु परिवर्तनसँग जुध्नका लागि नवनियुक्त राजाको चासोको स्वागत गर्दै उनको राज्याभिषेकका लागि बधाइ ज्ञापन गरे । 

‘उनी ‘ग्रेट ब्रिटेन’ र युरोपेली संघबीच घनिष्ठ सहयोगका लागि प्रतिबद्ध छन् । यो धेरै महत्वपूर्ण छ । जलवायु परिवर्तनका प्रभावबाट पृथ्वीको संरक्षणलाई अगाडि बढाउनका लागि आफ्नै व्यक्तिगत एजेन्डा पनि छ,’ स्कोल्जले भने, ‘यसले हामीलाई पनि मद्दत गर्नेछ ।’

राज्याभिषेक समारोहमा इटालीको प्रतिनिधित्व राष्ट्रपति सर्जियो माटारेलाले गरेका छन् । इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनीले उनीमार्फत् ‘राजा चार्ल्स तृतीय, रानी क्यामिला र सम्पूर्ण बेलायती जनतालाई शुभकामना’ पठाएका छन् । सामाजिक सञ्जालमार्फत् सम्प्रेषित सन्देशमा उनले ‘वेस्टमिन्स्टर एबेको दुर्लभ ‘मोजक फ्लोर’मा संलग्न इटालियन शिल्पकौशलको प्रतीकात्मकतालाई’ देखेको बताएका छन् । 

उनले भने, ‘प्राचीन ‘कोस्मती फुटपाथ’मा राज्याभिषेकका लागि राखिएको फर्निचरको सजावट ‘कुशलतापूर्वक सिर्जना गरिएको र विश्वलाई चकित पार्न र इटाली र यूके बीचको ऐतिहासिक र फलदायी सहयोगलाई सम्झनका लागि’ प्रयाप्त आधार भएको भन्दै राजा चाल्र्स तृतीयसँगको सहकार्यले दुई देशको सम्बन्ध थप मजबूत हुने विश्वास व्यक्त गरेका छन् । 

ग्रीसको विदेश मन्त्रालयले अङ्ग्रेजीमा ट्वीट गर्दै चाल्र्सका पिता प्रिन्स फिलिपको जन्म सन् १९२१ मा कोर्फु टापुमा भएको स्मरण गरिएको छ । 

ग्रीसले उनी (चाल्सै) को ‘आफ्नो कर्तव्यमा सफलता’ को कामना गर्दै उत्कृष्ट सहयोग जारी राख्न र द्विपक्षीय ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आतुर रहेको बताएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्