यसरी हुँदै बेलायती राजा चार्ल्स तृतीयको भव्य राज्याभिषेक

शनिबार, वैशाख २३, २०८०

काठमाडौं–बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक शनिबार हुँदैछ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्छन् ।

वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लाग्न थालेको छ । यसलाई ध्यानमा राख्दै सेन्ट्रल लन्डनमा कडा सुरक्षा व्यवस्था गरिएको छ । समारोहमा करिब एक सय देशका सरकार प्रमुख सहभागी हुनेछन् । नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगिसकेका छन् । 

राज्याभिषेक समारोह करिब दुई घण्टासम्म चल्ने र त्यसमा २३ सय पाहुनाको उपस्थिति रहनेछ । जसमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल छन् जो शुक्रबार अमेरिकाबाट यहाँ आइपुगेका छन् ।

बेलायतका साथै अन्य देशका दशौँ लाख मानिसहरू धार्मिक एवं परम्परागत समारोहको सम्मिश्रण हुने राजा चार्ल्स तृतीयको राज्याभिषेकको उत्सव मनाउने प्रतीक्षामा छन् ।

समारोह लन्डनस्थित वेस्टमिन्स्टर एबीमा हुने छ । जहाँ राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट कमिलालाई राजमुकुट पहि¥याइने छ । सन् १०६६ यता त्यहाँ त्यसरी राजमुकुट पहिरिने उनी ४०औँ शासक हुने छन् ।

भव्यता र औपचारिकताको यस दिन १,००० वर्षभन्दा अगाडिदेखि अभ्यास हुँदै आएका कतिपय परम्परा प्रदर्शन गरिने छ । 

कार्यक्रममा राजा चार्ल्सले सैन्य पोसाक लगाउने ठानिएको छ । उनका हजुरबुबा जोर्ज छैटौँले भने राज्याभिषेकमा ब्रिचेज र स्टकिङ लगाएका थिए ।

समारोहहरू ११ बजेदेखि आरम्भ हुने छन् । बीचबीचमा राजाले नै रोजेका सङ्गीत बज्ने छ । त्यसमा १२ वटा नवनिर्मित धुन छन् ।

राजपरिवारको वेबसाइटमा उल्लेख भएअनुसार राज्याभिषेकका बेला रिगेलिया – राजमुकुट, ओर्ब र राजदण्डजस्ता शाही सामग्रीहरू – प्रयोग गर्ने यूके एक मात्र युरोपेली देश हो । ती प्रत्येक शाही सामग्रीले राजाको विशिष्ट सेवा तथा कर्तव्य जनाउँछन् ।

राजा चार्ल्सलाई सोभरिन्स ओर्ब, क्रससहितको राजदण्ड अनि डोभसहितको राजदण्ड एवं अन्य शाही सामग्री क्रमैसँग समारोहका बेला प्रदान गरिने छन् ।

करिब २ घण्टाको समारोह विभिन्न चरणमा आयोजित हुने छ ।

एङ्ग्लोस्याक्सन कालदेखि नै चल्दै आएको चलनबमोजिम राजा चाल्र्सलाई ‘जनता’ समक्ष प्रस्तुत गरिने छ ।

राज्याभिषेकका लागि प्रयोग गरिने ७०० वर्ष पुरानो विशेष आसनछेउ उभिएर आर्चविशप अफ क्यान्टर्बरी जस्टिन वेलेबीले एबीको हरेक दिशामा फर्किएर चाल्र्सलाई ‘कुनै दुबिधा नरहेको’ राजा घोषणा गर्ने छन् र उपस्थित व्यक्तिहरूलाई उनीप्रति भक्ति र सम्मान प्रकट गर्न भन्ने छन् ।

उपस्थित मानिसहरू ‘गड सेभ द किङ् !’ अर्थात् ‘ईश्वरले राजाको रक्षा गरून्’ भनेर ठूलो स्वर निकाल्ने छन् । उनीहरूको आवाजसँगै ट्रम्पेट बजाइने छ ।

राज्याभिषेक आसन वा सेन्ट एड्वर्ड्ज आसन वा किङ् एडवर्ड्ज आसनलाई यूकेमा अहिले पनि पहिलेकै जस्तो कार्यमा प्रयोग हुँदै आएको सबभन्दा पुरानो आसन मानिन्छ । कुल २६ शासकहरूलाई यस आसनमा राखेर राजमुकुट पहि¥याइएको छ ।

आर्चविशप अफ क्यान्टर्बरीले राज्याभिषेकको शपथ गराउने छन् – यो एउटा अनिवार्य विधान हो । राजा चाल्र्सलाई उनको शासनकालमा उनले कानुनको परिपालना गर्ने गराउने छन् र चर्च अफ इङ्ग्ल्यान्डको रक्षा गर्ने छन् भनेर शपथ लिन उनले लगाउने छन् । ‘होली गोस्पेल’ मा हात राखेर राजाले ती वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्ने छन् ।

राजाले पहिरेको ‘सेरेमोनियल रोब’ निकालिने छ र उनी राज्याभिषेक आसनमा बस्ने छन् । त्यहाँ उनको अभिषेक हुने छ जसले चर्च अफ इङ्ग्ल्यान्डका प्रमुख समेत रहने राजाको आध्यात्मिक हैसियतमा जोड दिने छ ।

सुनको भाँडा – बाट विशेष तेल झिकेर आर्चविशपले राज्याभिषेक स्पुन – विशेष चम्चा – मा राख्ने छन् । त्यसपछि उनले राजाको शिर, छाती र हातहरूमा क्रसको सङ्केत बनाउँदै त्यसले अभिषेक गर्ने छन् ।

यो समारोहमा प्रयोग हुने तेल राज्याभिषेककै निम्ति भनेर जेरुसलेमको ‘माउन्ट अफ ओलिभ्स’मा रहेका दुई ओलिभ बगैँचामा फलेका ओलिभबाट निकालिएको हो । सो सहरमा रहेको ‘चर्च अफ होली सेपलकर’ भनिने प्राचीन र अतिमहत्त्वपूर्ण गिर्जाघरमा गरिने एउटा विशेष समारोहमा त्यो तेलको शुद्धि गरिन्छ ।

यतिखेरको समारोहमा राजालाई अरूले नदेखून् भनेर उनी बसेको आसनमाथि कुनै प्रकारको छाताले ढाकिने छ । यसलाई समारोहकै सबभन्दा पवित्र भाग मानिन्छ ।

यही चरणमा राजालाई राजमुकुट पहि¥याइने छ । जीवनमा यही एक पटक उनले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिने छन् ।

उक्त मुकुटको नाम पहिलेका एङ्ग्लोस्याक्सन राजा तथा सेन्ट एड्वर्ड द कन्फेसरका निम्ति बनाइएको मुकुटबाट लिइएको हो । पुरानो मुकुटलाई सन् १२२० पश्चात् हरेक राज्याभिषेकमा प्रयोग गरिएको थियो तर क्रोम्वेलले त्यसलाई पगालिदिए ।

राजा चार्ल्स द्वितीयको पालामा उनलाई पनि पहिलेकै जस्तो मुकुट चाहिएको हुनाले थप भव्यतासहित अहिले प्रयोग हुँदै आएको नयाँ मुकुट बनाइएको थियो ।

यो राजमुकुट पहिरिने राजा चाल्र्स तृतीय सातौँ शासक हुने छन् । यसअघि राजा चाल्र्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ, अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए । उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।

सबभन्दा पहिले राजालाई सोभरिन्स ओर्ब, राज्याभिषेक औँठी, क्रससहितको राजदण्ड र डोभसहितको राजदण्ड अर्पण गरिने छ ।

त्यसपश्चात् आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिने छन् । ट्रम्पेट बाजा बजाइनेछ भने यूकेभरि तोपको सलामी अर्पण गरिने छ ।

टावर अफ लन्डनमा ६२ तोपको सलामी चढाइने छ भने होर्स गार्ड्स् परेडमा छ पटक तोप पड्काइने छ । एडिन्बरा, कार्डिफ र बेल्फास्टसहित यूकेका ११ विभिन्न स्थानमा अनि रोयल नेभीका पानीजहाजमा २१ तोपको सलामी चढाइने छ ।

समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण गर्ने छन् । उनलाई आर्चविशप, विशपहरू तथा अधिराज्यका अन्य पीअरहरूले (हाउस अफ लर्ड्सका सदस्य) बोकेर गद्दीमा विराजमान गराउन पनि सक्ने छन् ।

त्यसपछि पालैपालो राजपरिवारका अन्य सदस्य तथा पीअरहरूले राजाका सामु घुँडा टेकेर उनलाई बफादारीको वचन दिने र उनको दाहिने हात चुम्ने परम्परा छ ।

तर यसपालि केवल राजकुमार विलियम मात्र त्यसो गर्ने शाही ड्यूक हुने ठानिएको छ ।

राजा र क्वीन कन्सोर्ट गद्दीबाट ओर्लिने छन् र त्यसपछि उनीहरू सेन्ट एड्वर्ड्ज च्यापलतर्फ लाग्ने ठानिएको छ । त्यहाँ पुगेर चाल्र्सले सेन्ट एड्वर्ड्ज क्राउन फुकाल्ने छन् र इम्पेरियल स्टेट राजमुकुट पहिरिने छन् । राष्ट्रगानका साथमा उनको सवारी एबीबाट बाहिरिने छ ।

त्यसपछि राजा र क्वीन कन्सोर्ट पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ फर्किने छन् । यस पटक भने उनीहरू २६० वर्ष पुरानो सुनौलो स्टेट कोच बग्गीमा सवार हुने छन् जुन सन् १८३१ मा विलियम चतुर्थको राज्याभिषेकयता सबैको राज्याभिषेकमा प्रयोग भएको छ ।

सुनौलो स्टेट कोच बग्गीको पछिपछि अर्को क्यारेजमा राजकुमार विलियम र राजकुमारी केट अनि उनीहरूका छोराछोरी राजकुमार जोर्ज र लुई अनि राजकुमारी शार्लट पनि यात्रामा सहभागी हुने विवरणहरू आएका छन् ।

यस समारोहमा यूकेको सेनाको ४,००० सदस्यले भाग लिने छन्। रक्षा मन्त्रालयले त्यसलाई एक पुस्तायता कुनै पनि समारोहमा हुने सबभन्दा विशाल सैन्य सहभागिता भनेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्