नक्कली भुटानी शरणार्थी प्रकरण : 

एक पूर्वमन्त्री फरार, अर्का तानिए

शनिबार, वैशाख २३, २०८०

काठमाडौँ— भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका छन् । 

२०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए । त्यसअघि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सचिव थिए ।

गृह मन्त्रालय हुँदै पछिल्लो पटक उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन् ।

बुधबार जडीबुटी÷पेप्सिकोला क्षेत्रबाट पक्राउ परेका सचिव पाण्डेको मोबाइल तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, पाण्डेको मोबाइल ‘फर्म्याट’ गरेर खाली बनाएको भेटिएको छ । त्यसलाई प्रयोगशाला पठाएर विवरण ‘रिकभर’ गर्न लागिएको प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरीका अनुसार सचिव पाण्डेको मोबाइल विवरण तत्काल नभेटिए पनि पक्राउ परेका अन्य केही आरोपितका मोबाइलबाट यो गिरोहमा पाण्डे पनि सामेल भएको विवरण भेटिएको छ । यो विवरणअनुसार पाण्डे गिरोहसँग निरन्तर सम्पर्कमा थिए । ‘उनीहरूबीच फोन र म्यासेज आदानप्रदान भएको देखिन्छ, कुराकानी नक्कली शरणार्थी बनाउने विषयमा केन्द्रित छ,’ अनुसन्धानमा रहेका एक प्रहरीको भनाइ छ ।

२०७८ असार २९ देखि २०७९ पुस ११ सम्म गृहमन्त्री भएका खाँण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले पनि बताएका छन् । कहिले शरणार्थी समस्याको कुरामा, कहिले यही दुलाल–भण्डारीको टोलीमा र कहिले भेला–बैठकमा उहाँ आउनुभएको हो, तर गिरोहसँगको काममा हो कि होइन भन्न सकिएन,’ झापा प्रशासनका एक अधिकारीले भने । तर, यो लहरो तान्दा अझै एक दर्जन ‘हाई प्रोफाइल’ तानिने अनुसन्धानकर्मी अधिकारीको भनाइ छ । यता, प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् ।

प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन् ।

(सो समाचार आजको कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।)
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्