नक्कली भुटानी शरणार्थी प्रकरण :

बादलका छोराले भने– गलत उद्देश्यका साथ मविरुद्ध तथ्यहीन प्रचार गरियो

बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ– पूर्वगृहमन्त्री एवम् नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीकले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफ्नो मुख खोलेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै मुख खोलेका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै गलत उद्देश्यका साथ आफूविरुद्ध तथ्यहीन प्रचार गरिएको आरोप लगाएका छन् ।

आफूले अनुसन्धान प्रक्रियालाई भने सघाउने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले  केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ आफूविरुद्ध तथ्यहीन प्रचार गरिरहेका आरोप समेत ललाएका छन् । 

‘मविरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढवा दिने हो ? भन्ने कुरा बुझ्न जरुरी छ’, उनले विज्ञप्तिमा भनेका छन् । 

आफ्ना बुवा बादलले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेको उनको भनाइ छ । 

‘जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौँ । त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन’, उनले भनेका छन् ।

शरणार्थी प्रकरणमा प्रतीक थापाको प्रेस विज्ञप्ति

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्