नेभिगेशन
समाज विविध

उदयपुका ३ पालिकामा लिफटिङ खानेपानी आयोजना सुरु

उदयपुर– तीनवटा पालिकामा लिफटिङ खानेपानी आयोजना सुरु गरिएको छ । 

खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरको रेखदेखमा २०८२ असार ३० गते सम्पन्न गर्ने गरी वृहत् लिफटिङ सुनकोसी खानेपानी आयोजना निर्माण सुरु गरिएको हो । 

एक अर्ब ५८ करोड ९६ लाखको लगानीमा निर्माण सुरु गरिएको आयोजनाबाट ताप्ली, रौतामाई र लिम्चुङबुङ गाउँपालिकाका ६ हजार ३२७ घरधुरीका ३७ हजार २० जना उपभोक्ता लाभान्वित हुने फिल्ड इन्जिनियर सुजित महतोले बताए । 

आयोजना जलवायु अनुकूलित हुनेछ । दुई वटा स्किममा विभाजन गरिएको आयोजनाको स्किम १ बाट लिम्चुङ्बुङ गाउँपालिका वडानं १ देखि ५ सम्म र रौतामाई गाउँपालिको वडानं १ देखि ३ सम्मका ३ हजार २७२ घरपरिवार समेटिने छन् ।

त्यसैगरी स्किम २ बाट ताप्ली गाउँपालिकाको वडानं १ देखि ५ सम्मका ३ हजारभन्दा बढी घरधुरीपरिवार लाभान्वित हुने महत्तोले जानकारी दिए । स्किम २ अन्तर्गत ताप्ली गाउँपालिकाका विभिन्न स्थानमा रिजर्भ ट्यांकी निर्माण, पाइपका लागि नाला खन्ने, गार्ड हाउस निर्माण तथा पाइपहरू ढुवानी लगायतका काम भइरहेको पालिका अध्यक्ष ढुङराज विश्वकर्माले बताए ।

ताप्लीका १७ हजार ८७९ जना उपभोक्ताले ६ हजार ३२७ वटा धारा मार्फत स्वच्छ खानेपानीको सुविधा उपभोग गर्न पाउने छन् । तीनवटै पालिकाका उपभोक्तालाई लक्षित गरी सुरु गरिएको आयोजनाका लागि एक प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ ।

सोही अन्तर्गत ताप्ली गाउँपालिकाका उपभोक्ताले एक करोड ५८ लाख ९६ हजार ५५२ रुपैयाँ संकलन गरी जम्मा गरिदिएपछि योजना अघि बढेको अध्यक्ष विश्वकर्माले बताए । भौगोलिक विकटता र स्थानीयको आम्दानीलाई हेरी केही रकम पालिकाबाट सहयोग हुने उनले बताए । 

आयोजना प्रमुख चोकप्रसाद धितालका अनुसार स्किम १ मा आठ ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १७ दशमलव ५ लिटर र स्किम २ मा सात ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १६ दशमलव ५ लिटर पानी तानेर रिजर्व ट्यांकीमा जम्मा गरिनेछ । ट्यांकीबाट उपभोक्तालाई पाइपमार्फत घर–घरमा पानी वितरण गरिने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध