नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी

बुधबार, वैशाख २०, २०८०

काठमाडौं–नक्कली भुटानी शरणार्थीको नागरिकता प्रकरणमा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । 

काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सन्दीपले एक करोडको चेक लिएको पाइएको प्रहरीले जनाएको छ ।

यसअघि यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ७ जना पक्राउ परिसकेका छन् । 

राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको प्रहरीको दाबी छ ।

इन्द्रजितका छोरा निरज राई र बादलका छोरा प्रतीक थापाविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरिसेकको छ ।

यसअघि प्रहरीले ललितपुर महानगरपालिका–२३ घर ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्