टिप्पणी :

को हुन् बालेनले भनेका ‘चोर’ नयाँ नेता ?

बुधबार, वैशाख २०, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत चैत २५ मा सामाजिक सञ्जालमा एउटा आक्रेशित स्टाटस लेखे, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

बालेनको यो भनाइले एक किसिमको तरंग ल्यायो । नभन्दै सिंहदरबारभित्रको फोहोर उठ्न छोड्यो । घोषणा गरेको दुई दिनपछि उनले १४ बुँदे स्पष्टीकरण दिँदै आफूले दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन लगायतका विषयमा अघि सारेका योजनामा नेताहरूले साथ नदिएको, बरु उल्टै भाँजो हालेको आरोप लगाउँदै आफू बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णयमा पुगेको स्पष्ट पारे । 

पछि सर्वोच्च अदालतको आदेशपछि बालेन ‘ब्याक’ भए ।

एक महिनापछि बालेन नेताहरूप्रति झनै उग्र रुपमा प्रस्तुत भएका छन् । गएराति सामाजिक सञ्जालमा लेख्दै उनले नेताहरूलाई ‘चोर’को संज्ञा दिएका छन् । 

अरुबेला पुराना नेताहरूलाई मात्र आक्रोश पोख्ने उनले अहिले आएर नयाँ नेतालाई समेत चोर भन्न हिच्किचाएका छैनन् ।

‘नयाँ–पुराना सबै नेताहरू चोर हुन्,’ उनले लेखेका छन् ।

साथै, मेयर बालेनले कुनै नेतालाई पनि देशको माया नभएको आरोप लगाएका छन्, ‘कसैलाई देशको माया छैन,’ उनले लेखेका छन् ।

बालेन पनि त एक नयाँ नेता हुन् । यस्तोमा पनि आखिर बालेन नयाँ नेताहरूप्रति नै किन यति धेरै आक्रोशित भए त ? 

यस्तो हुन सक्छ कारण 

पुराना पार्टी कांग्रेस, एमालेका उम्मेदवारलाई हराएर मेयर बनेका थिए बालेन । निर्वाचित हुनेबित्तिकैदेखि नै आफूलाई पुराना पार्टीका नेताहरूबाट असयोग भएको बालेनको बुझाइ रह्यो । तर, गत मंसिर ४ को निर्वाचनबाट नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी उदायो । त्यसका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बने । ‘जान्नेलाई छान्ने’ नारा बोकेका रविबाट बालेनले आशा राखेका थिए । 

तर, सुकुम्बासी व्यवस्थापनमा सघाउन आग्रह गर्दै गत माघ १२ मा भेट्न गएका बालेनलाई रविले साथ दिएनन् । त्यसपछि बालेन नयाँप्रति पनि आक्रोशित भएको विश्लेषण गरिएको छ ।

बालेनमाथि उनका विरोधीहरूले अर्को आरोप पनि लगाउने गर्छन् । उनी पिएको बेला सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्छन् भनेर । संयोगवश हिजो बालेनका निकट मानिने रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको विवाहको पार्टी थियो । सोही पार्टीमा मदिरा पिएपछि बालेनले आक्रोशित भएर नेताहरूलाई गाली गरेको उनका विरोधीहरूको दाबी छ । यद्यपि, यो पुष्टि हुने आधार भने देखिएको छैन । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्