स्टाफ नर्स आत्महत्या प्रकरण : डा.ढकाल पक्राउ, बुबा फरार 

मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ– काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका १६ बोहराटारका डा.सुजन ढकाल पक्राउ परेका छन् ।

उनका बुबा मुरलीप्रसादको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएपछि प्रहरी वृत्त बालाजुले आज डा ढकाललाई पक्राउ गरेको हो ।

आज अपराह्न पक्राउ परेकाले भोलि म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाउने बालाजु वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनका अनुसार प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरुविरुद्ध जाहेरी दर्ता गराएका थिए ।

आजै अदालतबाट उनीहरुविरुद्ध पक्राउको अनुमति लिएर खोजी भइरहेका बेला उनलाई बालाजु चोकबाट पक्राउ गरिएको हो ।

वीर अस्पतालकी स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । कोसी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइट नोट पनि फेला परेको प्रहरीले जनाएको छ । 

उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेकाले सोही आधारमा उनका परिवारले आत्महत्या दुरुत्सानमा जाहेरी दिएका हुन् । प्रहरीका अनुसार डा ढकाल र मृतक श्रेष्ठबीच विगतमा प्रेम सम्बन्ध रहेको पाइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार