दार्चुलामा हिमपहिरो अपडेट

दार्चुलामा हिमपहिरो : छाङरु फर्किए उद्दार टोली, भोलि बिहानैबाट पुनः खोजी सुरु 

मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ– दार्चुलाको ब्यास गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा बेपत्ताको खोजी कार्यमा संलग्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोली छाङरु फर्किएका छन् ।

मंगलबार दिउँसो यार्सागुम्बा खोज्न गएका स्थानीय बसिरहेको त्रिपाल हिमपहिरोले पुरेपछि उद्दारमा खटिएका उनीहरु रात परेपछि छाङरु फर्किएका हुन् ।

darchula_him_pahiro_rssphoto21683042745.jpg

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीदत्त भट्टले त्यहाँ बसेका १२ जना यार्सा सङ्कलकमध्ये सात जना सकुशल रहेको जानकारी दिए । बेपत्ता भएकाहरूको नाम खुल्न नसकेको उनले बताए । 

डिएसपी भट्ट सशस्त्र प्रहरीको २५ जनाको टोलीसहित आज साँझ घट्नास्थलमा पुगेका थिए । हिमपहिरो गएका बेला केही यार्सागुम्बा सङ्कलक दाउरा खोज्न त्रिपालबाट बाहिर निस्केका कारण ठूलो मानवीय क्षति हुन नपाएको उनले बताए ।

उनले भने, “घटनास्थल वरपर बाक्लो हिमपात भएको छ, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था छैन ।” राति उद्धार गर्न कठिनाइ भएका कारण सशस्त्र प्रहरीको टोली छाङरु नै फर्किएको डिएसपी भट्टले बताए । हिमपहिरो गएको स्थानमा सकुशल रहेका सबै यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा राखिएको उनले बताए ।
 
लेक लाग्ने हिमाली भेगमा बस्ने ठाउँ अभाव रहेकाले टोली यार्सा सङ्कलकसहित फर्किन लागेको र बुधबार बिहानै उद्धारमा खटिने उनको भनाइ छ । हिमपहिरोपछि सो क्षेत्रमा रहेका यार्सागुम्बा सङ्कलक त्रसित बनेको उनले बताए ।

हिमपहिरोमा परेका १२ जनामध्ये ४ महिला र एक पुरुष गरी पाँच जना बेपत्ता रहेको र ६ पुरुष र एक महिलासहित सात जनाको उद्धार गरिएको छ । 

वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर पठाउन सक्‍ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । लगातार पानी र हिउँ परेका कारण उद्दारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्