दार्चुलामा हिमपहिरो अपडेट

दार्चुलामा हिमपहिरो : ७ जनाको सकुशल उद्धार, पाँच अझै बेपत्ता

लगातार पानी र हिउँ परेका कारण उद्धारमा कठिनाइ
मंगलबार, वैशाख १९, २०८०

दार्चुला– दार्चुलाको ब्यास गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका पाँच जना बेपत्ता भएका छन् । 

यार्सागुम्बा खोज्न गएका उनीहरु बसिरहेको त्रिपाल मंगलबार दिउँसो हिमपहिरोले पुरेपछि पाँच जना बेपत्ता भएका हुन् । अन्य सात जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

हिमपहिरोको खबर पाएलगत्तै उद्धारका लागि छाङरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली खटिएका छन् ।

हिमपहिरोमा परेका १२ जनामध्ये ४ महिला र एक पुरुष गरी पाँच जना बेपत्ता रहेको र ६ पुरुष र एक महिलासहित सात जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर पठाउन सक्‍ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । लगातार पानी र हिउँ परेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्