‘ए’ डिभिजन लिग फुटबल

जावलाखेललाई पुलिसले हरायो, थ्रीस्टार र खुमलटार बराबरी 

मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लव खुमलटार युथ क्लवसँग बराबरीमा रोकिएको छ ।

मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्रीस्टारले खुमलटारसंग २–२ गोलको बराबरी खेलेको हो ।

खेलको चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले १–० को अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

त्यस्तै, दोश्रो हाफको ५०औं मिनेटमा स्टेफन समिरले गोल गर्दै खुमलटारले २–१ को अग्रता बनायो भने ६८ औं मिनेटमा थ्रीस्टारका आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । 

बराबरीसँगै थ्री स्टार २३ अंकका साथ तालिकाको दोश्रो स्थानमा छ भने खुमलटार १४ अंकका साथ १३ औं स्थानमा छ ।

त्यस्तै मंगलबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेललाई नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले पराजित गर्यो । पुलिसको जितमा मोसेस ग्याबाह र अहमद हिजाजीले एक एक गोल गरे । 

जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । जितसँगै पुलिसले १४ खेलमा १५ अंक जोडेको छ । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्