काठमाडौंसहित देशै भर ३ दिन पानी पर्ने सम्भावना

आइतबार, वैशाख १७, २०८०

काठमाडौं–स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हिजोदेखि वर्षा भएको छ । अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । शनिबार दिउँसोको भन्दा सिस्टम कमजोर भएकाले वर्षा कम भयो । आइतबार र सोमबार पनि वर्षाको सम्भावना छ’, महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले भने । प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन–चट्याङसहित वर्षा हुने र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

पहाडी भू–भागहरूमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ ।

गए राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी र सुदूरपश्चिम  प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतबार दिउँसो पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

सोमबार पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागले मेघगर्जन÷चट्याङ्ग, हावा–हुरीबाट हुन सक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्