Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनपछि गगनको टिप्पणी– स्वयं आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ–  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हालै सम्पन्न उपनिर्वाचनमा निर्वाचित तिनै जना उम्मेदवारलाई बधाई तथा शुभकामना दिँदै स्वयं आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको बताएका छन् ।

आज सामाजिक सञ्जालमा एक टिप्पणी लेखेर महामन्त्री थापाले नव निर्वाचित जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव,  राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) अध्यक्ष रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई बधाई तथा शुभकामना दिँदै उक्त कुरा बताएका हुन् ।

उनले आफुलाई आम अपेक्षा अनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतैपनि खरो उत्रन सकिन की भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको बताएका छन् ।  उनले जननायक बीपी कोइरालाको परिकल्पना अनुरुपको “समुन्नत नेपाल सम्मानित नेपाली” को हाम्रो संकल्प पूरा गर्नेसमेत बताएका छन् ।

यस्तो छ उनको टिप्पणी जस्ताको तस्तै 

हालै सम्पन्न उपनिर्वाचनमा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रास्वपा अध्यक्ष रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेज्यूलाई हार्दिक बधाई तथा शुभकामना ! सम्मुनति र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक बनाउन हाम्रो सहकार्य हुने नै छ ।  

उपनिर्वाचनको परिणामले विशेष गरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो र  यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेका छन । पार्टीभित्र र पार्टी  बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी हुनु भएको छ । राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको सुद्धीकरण र नेपाली कांग्रेस  रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु । 

अहिले नेपाली कांग्रेसको सवै तहमा आवद्ध सम्पूर्ण नेता तथा सदस्य साथीहरूले यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै हाम्रो पार्टीको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी हो । पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन संभव छैन । त्यसैले, सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं । 

विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको छु । निश्चय नै पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहना अनुरुप अपेक्षित परिणाम आइ सकेको छैन । प्रयत्न गरे पनि परिणाम नदेखिएको गुनासो गर्दै आगामी दिनमा थप सार्थक प्रयत्न गरेर परिमाणमुखी भूमिका निर्वाह गर्न नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई मैले गम्भीरतापूर्वक आत्मसात गरेको छु । आम जनता र पार्टीका साथीहरुको गुनासो, सुझाव र खवरदारीले मलाई सदा झै ठूलो उर्जा, प्रेरणा र आत्मबल दिएको छ । आम अपेक्षा अनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिन की भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु । यही क्रममा पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा वौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं । र, त्यो रुपान्तरण योजना सार्थक वनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु । 

पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ । हामीलाई अलमलिने न छुट छ न त समय नै । यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाँउमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ ।  पार्टीलाई रूपान्तरण गरी जनचाहना अनुसार अझै लोकतान्त्रिक, प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं । र, जननायक बीपी कोइरालाको परिकल्पना अनुरुपको “समुन्नत नेपाल सम्मानित नेपाली” को हाम्रो संकल्प पूरा गर्नेछौं । 

 जय नेपाल !

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्