एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता

साउदीलाई हराउँदै ओमान सेमिफाइनलमा

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह अन्तर्गतको खेलमा ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमनले साउदी अरेबियालाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । सो समूहबाट यसअघि नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । 

यो जितसँगै ओमनले चार खेलमा ६ अङ्क बटुल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

ओमनले साउदी अरेबियालाई जितको लागि तीन सय ६७ रनको चुनौती दिएको थियो । जवाफमा साउदी अरेबिया ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ९४ रनमा समेटियो । साउदी अरेबियाका लागि सुरुआती ब्याट्समान अब्दुलल वहिलले ९५ रनको योगदान गरे । उनले ८६ बल खेल्दै १४ चौका र एक छक्काको मद्दतमा ९५ रनको योगदान गरेका हुन् ।

त्यस्तै, साद खानले ७८ रन बनाए । उनले ८० बलमा १० चौका र एक छक्का प्रहार गरे । हिसम शेखले ३६, अब्दुल वाहिदले २५, अतिफ उर रेहमानले १६ तथा इम्रान अरिफले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेकनन् ।

बलिङतर्फ ओमानका खेलाडी विलाल खान एक्लैले चार विकेट लिए भने जय ओडेद्राले तीन विकेट झारे । जिसन मोक्सुदले दुई विकेट लिँदा आयन खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६६ रनको योगफल बनाएको थियो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरेका थिए ।

ओमनका जीतेन्द्र सिंहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन् । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउदाँ स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे । 

त्यस्तै, कस्यप प्रजापतिले ५१ रनको योगदान दिए ।

बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले भोलि कतारको समाना गर्नेछ । उक्त खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछ । यस खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।  

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्