सुडानबाट आफ्ना नागरिकको युद्धस्तरमा उद्धार गर्दै विश्वका प्रमुख देश 

मंगलबार, वैशाख १२, २०८०

दुबई– बहत्तरघण्टे युद्धविरामको फाइदा उठाउँदै विश्वका प्रमुख देशले सुडानबाट आफ्ना नागरिकको युद्धस्तरमा उद्धार थालेका छन् । पूर्णरुपमा युद्धविरामको पालना नभएकाले त्रासका बीच उनीहरू आफ्ना नागरिकलाई स्वदेश फर्काउन वा अन्य सुरक्षित स्थानमा पुर्‍याउन लागिपरेका छन् । 

धेरै देशले आफ्ना राष्ट्रिय सेना परिचालन गरेर कूटनीतिक कर्मचारी र नागरिकलाई प्राथमिकताका साथ उद्धारको प्रयास अघि बढाएका छन् । फ्रान्सले जिबुटीमा आफ्नो एयरबेस बनाएर काम थालेको छ । यद्यपि उद्धार सहज भएको छैन ।

पेरिसले ३६ देशका चार सय ९१ नागरिकलाई उद्धार गरेको छ । फ्रान्सद्वारा उद्धार गरिएकामा अमेरिका र बेलायत र जर्मनीका कूटनीतिक कर्मचारी पनि छन् । बेलायतका करिब दुई हजार नागरिकले उद्धारका योजनाबारे आफूहरूले पर्याप्त सूचना र जानकारी नपाएको गुनासो गरेका छन् । 

अमेरिकाले खार्तुममा कार्यरत कूटनीतिज्ञ एवम् तिनका परिवारका सदस्यलाई पहिलोचरणमा उद्धार गरेपनि झण्डै १६ हजार अमेरिकी नागरिकलाई एकैपटक उद्धार गर्न नसकिने बताएको छ । वासिङ्टनले सुडान छाड्न चाहने आफ्ना नागरिकलाई स्थलमार्गबाट सुरक्षित स्थानमा पुर्‍याउने योजना बनाएको र त्यसमा सहजकर्ताको भूमिका निर्वाह गर्ने घोषणा गरेको छ । 

संयुक्त अधिराज्यले साइप्रसको पूर्वी भूमध्यसागरीय टापुमा रहेको प्रमुख ब्रिटिस हवाई अड्डाबाट करिब एक हजार दुई सय सैनिक परिचालन गरेर ३० जना कूटनीतिज्ञ र उनीहरूका परिवारलाई खार्तुमको रणभूमिबाट सुरक्षित रुपमा उद्धार गरेको छ । अन्य नागरिकलाई पनि यथाशीघ्र उद्धार गरिने बेलायतका विदेशमन्त्रीले बताएका छन् । 

सङ्घीय गणतन्त्र जर्मनीले करिब चार सय जनालाई सुडानबाट जोर्डन पुर्‍याएको छ । उनीहरू त्यहाँबाट आफ्नो मुलुकतर्फ प्रस्थान गर्ने बताइएको छ । जर्मनीको उद्धार उडानबाट २७ जना अष्ट्रेलियाका नागरिक पनि छन् । 

क्यानडाका विदेशमन्त्री मेलानी जोलीले सुडानमा औपचारिक रूपमा दर्ता भएका एक हजार छ सय क्यानडालीलाई उद्धार गर्न समान विचारधारा भएका देशसँग छलफल भइरहेको बताउनुभएको छ । क्यानडाले खार्तुमबाट कन्सुलरलगायत सबै सेवा बन्द गरेको छ । 

इटालीको वायुसेनाले आइतबार साँझ खार्तुम विमानस्थलबाट करिब दुई सय जनालाई जिबुटी पुर्‍याएको छ । इटालीले स्विस, विभिन्न युरोपेली देश र खार्तुमस्थित भ्याटिकनको दूतावासका कर्मचारीलाई उद्धार गरेको जनाएको छ । भारतले पनि उद्धारको प्रक्रिया प्रारम्भ गरेको बताएको छ ।  

स्पेनले खार्तुमबाट ३४ जना आफ्ना नागरिक, अर्जेन्टिी, कोलम्बियाली, आइरिस, इटालेली, मेक्सिकन, पोर्चुगी र पोलिस गरी एक सय ७२ जनालाई उद्धार गरेर जिबुटी पुर्‍याएको बताएको छ । त्यसैगरी फ्रान्सको सहयोगमा स्वीडेन र डेनमार्कका तीन सय ८८ जना पनि जिबुटी पुगेका छन् । 

स्विटजरल्याण्ड, फिनल्याण्ड, पोल्याण्ड, नर्वे, नेदरल्याण्डस्, बुल्गेरिया, टर्की, ग्रीस, जापान, दक्षिण अफ्रिका, केन्या, प्यालेष्टाइन, दक्षिण कोरिया, जार्डन र इजिप्टलगायत दशले आफै र केहीले आफ्नो विकासका साझेदार मुलुको सहयोगमा आफ्ना नागरिकलाई खार्तुमबाट उद्धार गरेका छन् । 

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल ९एसएएफ० र र्‍यापिड सपोर्ट फोर्सेस (आएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका भए पनि खार्तुमका विभिन्न भागमा गोलाबारुद्ध विष्फोटका आवाज बन्द भएका छैनन् । 

यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ । जारी युद्धका कारण हजारौँ घाइते भएका छन्भने ठूलो सङ्ख्यामा विदेशीहरू पलायन भएका छन् ।  यसअघिका युद्धविरामका प्रयास असफल भएका थिए । राष्ट्रसङ्घीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्