राष्ट्रिय जनगणना–२०७८

६६ दशमलव २ प्रतिशत जनसंख्या नगरपालिकामा बस्छन्

आइतबार, वैशाख १०, २०८०

काठमाडौँ– राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालको कूल जनसङ्ख्याको ६६ दशमलव २ प्रतिशत नगरपालिकाका र ३३ दशमलव ८ प्रतिशत गाउँपालिकामा बस्ने गरेको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को नगरपालिका तथा गाउँपालिकास्तरमा आज सार्वजनिक गरिएको नातिजामा नगरपालिकामा बस्ने जनसङ्ख्या एक करोड ९२ लाख ९६ हजार सात सय ८८ (६६ दशमलव २ प्रतिशत) र गाउँपालिकामा बस्ने जनसङ्ख्या ९८ लाख ६७ हजार सात सय ९० (३३ दशमलव ८ प्रतिशत) रहेको छ ।

जुन २०६८ सालको जनगणनाअनुसार नगरपालिकामा बस्ने जनसङ्ख्या १७ दशमलव १ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसङ्ख्या ८२ दशमलव ९ प्रतिशत रहेको थियो ।

जनगणना सन्दर्भ दिन २०७८ साल मङ्सिर ९ गते सार्वजनिक गरिएको तथ्याङ्कै आधारमा नगरपालिका र गाउँपालिकाको नजिता आज सार्वजनिक गरिएको हो । जुन तथ्याङ्कअनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ (४८ दशमलव ८७ प्रतिशत) र महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ (५१ दशमलव १३ प्रतिशत) रहेको छ ।

नेपालको लैङ्गिक अनुपातप्रति एक सयजना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ५९ जना रहेको छ भने नगरपालिकाको ९६ दशमलव ०६ र गाउँपालिकाको ९४ दशमलव ६८ रहेको नगरपालिका तथा गाउँपालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भौगोलिक क्षेत्रअनुसार देशको हिमालमा नगरपालिकामा बस्ने जनसङ्ख्या ३५ दशलव ६ प्रतिशत र गाउँपालिकामा बस्ने जनसङ्ख्या ६४ दशमलव ४ प्रतिशत रहेको छ ।

यसैगरी, पहाडमा नगरपालिकामा बस्ने जनसङ्ख्या ६३ दशलव ३ प्रतिशत र गाउँपालिकामा बस्ने जनसङ्ख्या ३६ दशमलव ७ प्रतिशत रहेको छ । तराईमा नगरपालिकामा बस्ने जनसङ्ख्या ७१ दशमलव ८ र गाउँपालिकामा बस्ने जनसङ्ख्या २८ दशमलव २ प्रतिशत रहेको छ । 

जनगणना अवधिमा नेपालको वार्षिक औसत जनसङ्ख्या वृद्विदर शून्य दशमलव ९२ प्रतिशतप्रति वर्ष रहेको छ । जुन २०६८ सालको जनगणनामा १ दशमलव ३५ प्रतिशत प्रतिवर्ष थियो भने नगरपालिकाको वार्षिक औसत जनसङ्ख्या वृद्विदर १ दशमलव ३६ र गाउँपालिकाको शून्य दशमलव ११ प्रतिवर्ष रहेको छ ।

जनगणनाको नतिजाअनुसार नेपालको जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसङ्ख्या) एक सय ९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ । जुन २०६८ सालमा एक सय ८० वर्ग किमी मात्र थियो  भने नगरपालिकाको जनघनत्व तीन सय ७३ र गाउँपालिकाको जनघनत्व एक सय पाँचजना प्रतिवर्ग किलोमिटर रहेको छ ।

जनगणना २०७८ अनुसार नेपालमा बसोबास गर्ने कूल परिवार ६६ लाख ६६ हजार नौ सय ३७  मध्ये नगरपालिकामा बसोबास गर्ने परिवार ४४ लाख ७९ हजार ६ सय ६२ र गाउँपालिकामा बसोबास गर्ने परिवार २१ लाख ८७ हजार दुई सय ७५ रहेका छन् ।

नेपालमा प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४ दशमलव ३७ जना रहेको छ भने नगरपालिकामा प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४ दशमलव ३१ र गाउँपालिका ४ दशमलव ५१ जना रहेको छ ।

       

भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रको नगरपालिकामा ४ दशमलव २३, पहाडको नगरपालिकामा ३ दशमलव ९० र तराईको नगरपालिकामा ४ दशमलव ६३ जना रहेको छ भने गाउँपालिकामा हिमालमा ४ दशमलव ३८, पहाडमा ४ दशमलव १४ र तराई क्षेत्रमा ४ दशमलव ९९ जना सदस्य रहेका छन् ।

नेपालमा कूल ६६ लाख ६६ हजार नौ सय ३७ परिवारमध्ये ६८ दशमलव ५ प्रतिशत परिवारमा पुरुष परिवारमूली र ३१ दशमलव ५ प्रतिशत महिला परिवारमूली रहेका छन् । नगरपालिकामा ६७ दशमलव २ प्रतिशत र गाउँपालिकामा ७१ दशमलव १ प्रतिशत परिवारमूली पुरुष रहेका छन् भने नगरपालिकामा ३२ दशमलव ८ प्रतिशत र गाउँपालिकामा २८ दशमलव ९ प्रतिशत परिवारमूली महिला रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्