विराटनगरको अवस्था सामान्य बन्यो

शनिबार, वैशाख ९, २०८०

विराटनगर – कोसी प्रदेशमा पहिचानवादी आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको शव अन्त्येष्टिका लागि मोरङको बेलबारीतर्फ लगिएको छ । 

शनिबार विराटनगरमा श्रद्धाञ्जलीसभा सकेर शवलाई दाहसंस्कारका लागि लाजेहाङको घर रहेको स्थान बेलबारीतर्फ लगिएको हो । बेलबारीमा लगेर श्रद्धाञ्जलीसभा गरिसकेपछि शवको शनिबार नै अन्त्येष्टि गरिने पहिचान पक्षधरको भनाइ छ । त्यसअघि विराटनगरको महेन्द्र चोकमा शवसहित श्रद्धाञ्जलीसभा गरिएको थियो । 

रोडशेष चोकमा गर्ने भनिएको श्रद्धाञ्जली सभा स्थान परिवर्तन गरेर महेन्द्र चोकमा आयोजना गरिएको हो । सुरक्षाकर्मीसँग झडप भएपछि स्थान परिवर्तन गरेर लगभग १ किलोमिटर उत्तरमा रहेको महेन्द्र चोकमा सारिएको थियो । 

लाजेहाङको शव यात्राका क्रममा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसँग दोहोरो झडप भएको थियो ।

शवयात्रालाई लक्षित गर्दै रोडशेष चोकबाट लगभग २ सय मिटर दक्षिणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर ‘ब्यारिकेट’ लगाउँदै सुरक्षाकर्मीले आवतजावतमा रोक लगाएका थिए । 

झडपमा आन्दोलनकारीहरुले लाट्ठी प्रहार गर्दै प्रहरीले लगाएको ‘ब्यारिकेट’ तोडफोड गर्न खोजेका थिए । आन्दोलनरत पक्षले जबरजस्ती गर्न थालेपछि त्यसलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।  

झपडका कारण तनावग्रस्त बनेको रोडशेष चोकको अवस्था अहिले सामान्य भइसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

तत्कालीन प्रदेश १ को नाम कोसी राखिएपछि त्यसको विरोधमा पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन् । कोसी खारेजीको माग राख्दै प्रदर्शन हुँदा गत चैत ५ गते ‘लाजेहाङ’ घाइते भए । बाहिर आएको भिडियोमा भने सुरक्षाकर्मीलाई लक्षित गरेर आन्दोलनकारीले प्रहार गरेको लाट्ठीले ‘लाजेहाङ’को टाउकोमा लागेको देख्न सकिन्छ । त्यही चोटका कारण स्वास्थ्यमा समस्या भएको भन्दै उनलाई चैत ८ गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो। उपचारकै क्रममा चैत १० गते उनको मृत्यु भएको थियो । 

सरकारले ‘लाजेहाङ’लाई शहीद घोषणा गर्ने र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । कोसी प्रदेश सरकारले पनि ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्