आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो मातातीर्थ औँसी [तस्बिरहरु]

वैदिक ग्रन्थमा ‘परदारेषु मातृवत्’ अर्थात् अरुकी श्रीमतीलाई पनि आमाकै रूपमा सम्मान गर्नुपर्ने
बिहीबार, वैशाख ७, २०८०

काठमाडौँ– नौ महिनासम्म कोखमा राखेर जन्म दिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व देशभर मनाइएको छ ।

प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको हो ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । 

CKK_KTM_RSS_07(1)1682003374.jpeg

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा–राम्रा लुगा लगाइदिने र मीठा–मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्  । जन्मदाता, कर्मदाता, शिक्षादातालगायत विभिन्न रूपका आमाप्रति श्रद्धा भक्तिसाथ यो पर्व मनाइएको छ । 

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए । वैदिक ग्रन्थमा ‘परदारेषु मातृवत्’ अर्थात् अरुकी श्रीमतीलाई पनि आमाकै रूपमा सम्मान गर्नुपर्छ भनी उल्लेख गरिएको छ ।

AR_KTM-IMG-31682003374.jpg

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले जन्मदाता आमाको महत्त्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

AR_KTM-IMG-21682003374.jpg

 

दिवङ्गत आमाको सम्झनामा गरियो तर्पण, पिण्डदान र सिदादान

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । 

वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।  

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष कोरोना कम भएकाले मातातीर्थमा भव्य मेला लागेको छ । मेला भर्न बुधबार बेलुकीदेखि नै भक्तजन मातातीर्थ आएका थिए । –रासस

CKK_KTM_RSS_07(2)1682003375.jpeg

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्