भारतीय नागरिकको नेपाली सेनाद्वारा उद्धार

बिहीबार, वैशाख ७, २०८०

काठमाडौँ– नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौँ ल्याएको छ ।

अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही वैशाख ४ गते दिउँसो २ः३० बजे क्याम्प–२ र ३ को बीचमा हिउँको खोचमा परी हराइरहेका थिए । अन्नपूर्ण हिमालको सफाइ अभियानमा जुटेको नेपाली सेनाको टोलीको सहयोगमा फेला पारी उनको आज बिहान उद्धार गरिएको हो ।

स्वास्थ्य गम्भीर अवस्थामा रहेका मल्लुलाई आधार शिविरमा ल्याएर  सेनाको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको र त्यसपछि पोखरास्थित मणिपाल अस्पताल हुँदै थप उपचारका लागि सेनाकै हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, जाजरकोट र रुकुमबीच भएर बग्ने ठूलीभेरी नदीमा जडान गरिएको बेलीब्रिज भत्कँदा चार श्रमिक गम्भीर घाइते भएकामा सेनाको टोलीले उद्धार गरेको छ ।

उनीहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको नेपालगञ्ज लगिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्