उपेन्द्र यादवलाई जिताउन देउवा र प्रचण्डको आग्रह

बिहीबार, वैशाख ७, २०८०

बारा –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ मा जिताएर गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन् । बारामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेसमा राम्रो काम गरेका कारण जिताउन मतदातालाई आग्रह गरे ।

संघीयता र लोकतन्त्रका लागि लडेका उपेन्द्र यादव गठबन्धनका साझा उम्मेदवार रहेको बताउँदै उनले ऐतिहासिक ठाउँसमेत रहेको बाराबाट गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन आग्रह गरे । 

‘मेरो क्याबिनेटमा हामी सँगै काम गरेका हौं । उहाँ मधेशको अधिकारकालागि क्याबिनेटमा पनि म सँग धेरै पटक झगडा गर्नुभयो मधेशका लागि लड्नुभयो,’ देउवाले भने, ‘उहाँ सच्चा मधेशका प्रति प्रतिवद्ध योग्य नेताको रुपमा पाएका छौं ।’

उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने धारणासमेत राखे ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा २ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको विजय सुनिश्चत रहेको दाबी गरे ।

यादव सङ्घीयताका लागि लडेको व्यक्ति भएको उल्लेख गर्दै प्रचण्डले उनले जित्नुपर्ने बताए । प्रचण्डले यादवले चुनाव जित्नु भनेको सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका लागि लड्ने शक्तिले जित्नु भएको दाबी गरे । 

उनले भने, ‘पटक पटक संसद विघटन गर्ने शक्तिविरुद्ध लड्नका लागि गठन भएको गठबन्धनलाई अझै बलियो बनाउनुपर्छ ।’ गठबन्धनलाई बलियो बनाउन नै यादवलाई बारामा चुनाव लड्न पठाएको प्रचण्डको भनाइ थियो । 

्उनले निजगढ विमानस्थल बनाइछाड्ने पनि उद्घोष गरे । उनले गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनस्थलका रूपमा विकास गर्न लागिपर्ने पनि बताए । 

यस्तै प्रचण्डले नागरिकता विधेयक संसदबाट पारित गराएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाए पनि प्रमाणीकरण हुन नसकेको बताउँदै अहिलेको राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे ।

बैशाख १० गते बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।  उपनिर्वाचनका लागि गठबन्धन दलको सहयोगमा जसपा अध्यक्ष यादव उमेदवार बनेका छन्। उनी गएको मंसिरमा भएको निर्वाचनमा सप्तरी २ बाट निर्वाचनमा पराजय भोगेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार