अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौँ लगियो

मंगलबार, वैशाख ५, २०८०

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जीवितै उद्धार गरिएका आरोहीलाई आज काठमाडौँ लगिएको छ । 

सात हजार पाँच सय मिटरको उचाइमा मृत भेटिएका स्कटल्यान्डका नोयल हान्नाको शव हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताए ।

उनका अनुसार बेहोस अवस्थामा जीवितै भेटिएका भारतका बलदेव कौरलाई पनि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको सिभिल अस्पतालमा लगिएको छ । सेभेन समिट ट्रेकमार्फत अन्नपूर्ण आरोहणका लागि आएका हान्ना सुतेकै ठाउँमा बिहान मृत भेटिएका थिए । 

पायनियर ट्रेकिङ कम्पनीबाट अन्नपूर्ण आरोहण गर्न गएका कौर अक्सिजनको कमीका कारण बेहोस भएका हुन् । 

सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिएका छैनन् । आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट समातेको डोरी फुत्किएपछि खसेर बेपत्ता भएका थिए । उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार आज चार वटा हेलिकप्टरमार्फत खोजी गरिएको थियो ।  

सिम्रिक, कैलाश, एयर अल्टिच्युट र एभरेष्ट एयरका हेलिकप्टर उद्धार र खोजीमा परिचालन भएका हुन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो । 

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । 

विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्