नेपाल र भारतका संस्थाबीच आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ– नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् ।

आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रममा आ–आफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप ९ओटीटी० र चलचित्र भवनमा प्रदर्शन गर्न नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपिसी) नेपाल र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटिपिसी) भारत सहमत भएका हुन् । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले बजार पाए दर्शक पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए ।

‘नेपालमा निर्माण भएको चलचित्रले छिमेकी देश भारतमा बजार विस्तार गर्न सके राम्रो लाभ आर्जन गर्नेछ । साथै, नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न हामी आतुर छौँ ।  एकअर्काको बजार खोज्ने कुरा सकारात्मक छ,’ बोर्ड अध्यक्ष केसीले भने ।

एनएफपिसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको चलचित्र बजार प्रवद्र्धन गर्न आतुर रहेको बताए ।

‘नेपाली चलचित्रलाई तेलुगु भाषामा स्वराङ्कन गरेर दक्षिण भारतका ओटीटीमार्फत प्रदर्शन गर्ने तयारीमा छौँ,’ उनले भने । कार्यक्रममा एफटिपिसी अध्यक्ष चैतन्य जङ्गले बजार र सम्भावनाबारे अध्यन गरिरहेको जानकारी दिए । ‘हामीलाई छायाङ्कन गर्न नेपाल सहज छ ।

नेपाली चलचित्र भारतमा र भारतीय नेपालमा छायाङ्कन हुँदा दुवैलाई लाभ हुनेछ,’ उनले भने ।

कार्यक्रममा अभिनेता कृष्ण मल्ल, दीपकराज गिरी, आयुष्मान देशराज श्रेष्ठ जोशी, दिनेश डिसीलगायत उपस्थित थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्