तनहुँको पिउरी दोभानमा जिप दुर्घटना : चालकको मृत्यु, ७ जना यात्रु घाइते

सोमबार, वैशाख ४, २०८०

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात जना यात्रु घाइते भएका छन् । 

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग१ज ७९४२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट एक सय आठ फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो । 

जिप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन् । 

घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्