पर्यटकले भरिए लमजुङका होमस्टे

शनिबार, वैशाख २, २०८०

काठमाडौं- नेपाली नयाँ बर्ष २०८० मनाउन आएका स्वदेशी तथा बिदेशी पर्यटकले लमजुङका होमस्टे भरिभराउ भएका छन् ।

नेपाली नयाँ बर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि यहाँका होमस्टेमा आइ रमाइलो गर्ने प्रचलन बढ्दै गएको छ । बिदेशी पर्यटकको नयाँ बर्ष मनाउने गन्तब्य स्थल पनि होमस्टे नै बनेको छ ।

सार्कराष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ, नेपालकै नमुना गाउँ काउलेपानी र पर्यटकीय गाउँ राइनासकोमा रहेका होमस्टे यतिबेला पर्यटकले भरिएका छन् । ‘नयाँ बर्ष मनाउनका लागि समुह-समुह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा नयाँ वर्ष मनाउनका लाग आन्तरिक पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको ब्यस्तता पनि बढ्न थालेको छ ।

त्यस्तै स्मार्ट भिलेज राष्ट्रकै नमूना ग्रामिण पर्यटकिय घलेगाउँमा पनि डेढ सय भन्दा बढि पर्यटक आएको घलेगाउँ पर्यटन व्यावस्थापन कार्यालय सचिव दिर्घ घलेले बताए । घलेगाउँ आन्तरिक र बाह्य पर्यटकले यति बेला भरिभराउ छ ।

घलेगाउँ, काउलेपानी र राइनासकोट सहित जिल्लामा सञ्चालित मर्स्याङ्दी गाउँपालिकाको भलामचौर, सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेन सहित जिल्लाका एक दर्जन बढी होमस्टेमा पनि पर्यटकको ओईरो लागेको स्थानियले बताएका छन् ।

गाउँमा पर्यटकको चाँप बढेर भ्याई नभ्याई भएपछि गाउँलेहरु खुशी भएका छन् । पर्यटकिय गाउँहरुमा कृषिसँगै पर्यटन नै मुख्य पेशा रहेको छ । पर्यटकहरुको स्वागत सत्कार गरेर नै स्थानियले मनग्ये आम्दानी गर्ने गरेका छन् । दैनिक पर्यटकको चहलपहल हुने यी गाउँहरुमा नयाँ वर्षको अवसरमा थप पर्यटकहरु आएका हुन् । जसले गर्दा यहाँकाे माहाेल रमाइलाे भएकाे छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्