चीन पुगेर राष्ट्रपति लुलाले भने– ब्राजिल फर्केको छ

शुक्रबार, वैशाख १, २०८०

साङ्घाई– ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले व्यापार सम्बन्धलाई मजबुत बनाउने र युक्रेनमा शान्ति स्थापनाका लागि समर्थन जुटाउने उद्देश्यका साथ चीनको राजकीय भ्रमणका क्रममा बिहीबार ‘ब्राजिल फर्केको’ बताएका छन् । 

बुधबार राति साङ्घाई आइपुगेका अनुभवी वामपन्थी नेता लुलाले आफ्ना पूर्ववर्ती जायर बोल्सोनारोको नेतृत्वमा चार वर्षको सापेक्षिक अलगावपछि ब्राजिललाई एक प्रमुख वैश्विक खेलाडीको रूपमा पुनः स्थापित गर्न खोजिरहेका छन् । 

ब्रिक्स नयाँ विकास बैंक (एनडिबी)को अध्यक्षका रूपमा आफ्नो राजनीतिक सहयोगी डिल्मा रूसेफको उद्घाटन समारोहमा लुलाले भने, ‘ब्राजिल विश्वका ठूला निर्णयहरूमा अब धेरै समय अनुपस्थित रहनुपर्ने छैन । हामी एक अकल्पनीय अनुपस्थितिपछि अन्तर्राष्ट्रिय मञ्चमा फर्केका छौं ।’

लुलाले बिहीबार साङ्घाईमा बिताएर आफ्ना समकक्षी सी जिनपिङलाई भेट्न चीनको राजधानी जानेछन् । 

चीन र ब्राजिल दुवैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अति घनिष्ठ रहेको पश्चिमा चिन्ताका बावजुद द्वन्द्वमा आफूलाई मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेका छन् ।

लुलाको भ्रमणको साङ्घाई चरणले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन भ्रमणको अर्को प्रमुख लक्ष्यलाई उजागर गरेको छ ।

चीन ब्राजिलको सबैभन्दा ठूलो निर्यात बजार हो, जसले अर्बौं डलरको भटमास, गाइको मासु र फलामको कच्चा पदार्थ (आइरान ओर) खरिद गर्दछ ।

ब्राजिल, चीन, रुस, भारत र दक्षिण अफ्रिकाले संयुक्त रूपमा स्थापना गरेको बहुपक्षीय ऋणदाता एनडिबीको नेतृत्व ब्राजिलका रुसेफले सन् २०२५ सम्म गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०६:०२
प्रतिक्रिया दिनुहोस्