निषेधित क्षेत्रमा चिनियाँ नागरिक पक्राउ, काठमाडौँ पठाइयो

बिहीबार, चैत ३०, २०७९

किमाथाङ्का– सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकाबाट पक्राउ परका चिनियाँ नागरिकलाई काठमाडौँ पठाइएको छ ।

सोमबार निषेधित क्षेत्र भोटखोला–१ को किमाथाङ्का नाकाबाट चिनियाँ नागरिक ३४ वर्षीय याङ यी पक्राउ परेका थिए । पक्राउ परेका चिनियाँ नागरिकलाई आज काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । 

चिनियाँ नागरिक याङलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गरेर थप अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडौँ पठाइएको प्रनाउ गोदारले बताए । निषेधित क्षेत्र पुगेका चिनियाँ नागरिकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । उनी किमाथाङ्का नाका किन आएका भन्न खुल्न सकेको छैन । 

किमाथाङ्काबाट यसअघि पनि एक चिनियाँ नागरिक पक्राउ परेका थिए । उनी रसुवागडी नाका हुँदै किमाथङ्का पुगेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २१:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार