भारत विकासशील देशहरूको पक्षमा

बिहीबार, चैत ३०, २०७९

काठमाडौं –भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै भारतले नै विश्वमा दक्षिणको प्रतिनिधित्व गरिरहेको दाबी गरेका छन् ।

भारत र इटालीका व्यापारीहरूको उपस्थितिमा यहाँ भएको एक कार्यक्रममा मन्त्री गोयलले  भारत अल्प विकसित देशहरूको उज्ज्वल भविष्यका निम्ति संसारका अन्य भागहरूमा आवाज उठाउन सक्रिय भएर लागेको दाबी गरे ।

विकासको प्रक्रियामा रहेका देशलाई सघाउनुपर्छ भन्ने मान्यताका साथ भारतले विश्वमञ्चहरूमा आवाज उठाउँदै आएको उनले दोहो¥याए ।

मन्त्री गोयल हाल फ्रान्स र इटालीको औपचारिक भ्रमणमा छन् । उनी नेतृत्वको प्रतिनिधिमण्डलमा साथ भारतका प्रमुख व्यापारिक प्रतिष्ठानका शीर्ष प्रमुख कार्यकारी अधिकृतहरू छन् । बुधबार पेरिसमा भएको भारत–फ्रान्स व्यापार शिखर सम्मेलन तथा प्रमुख कार्यकारी अधिकृतहरूको गोलमेच बैठकमा उनले भारत अवसरको खानी भएको बताउँदै त्यहाँ लगानी गरेर लाभान्वित हुन आमन्त्रण गरे ।

मन्त्री गोयलको यो भ्रमणबाट युरोपमा रहेका भारतका प्रमुख व्यापारिक साझेदारसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्