२०७९ सालमा सेयर बजारः कारोबार खुलेको र बन्द भएको दिन २९ अंकले घट्यो नेप्से

बिहीबार, चैत ३०, २०७९

काठमाडौँ– नेपाली वर्ष २०७९ साल सेयर बजारका लगानीकर्ताको लागि उत्साहको वर्ष बनेन । वर्षको पहिलो कारोबार दिन पनि घटेर बन्द भएको सेयर बजार मापक नेप्से परिसुचक कारोबार बन्द हुने दिन पनि घटेर नै बन्द भयो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार २०७९ सालको कारोबार खुलेको दिन र कारोबार बन्द भएको दिन नेप्से परिसुचक समान अंकले घटेको छ । २०७९ सालको कारोबार खुलेको दिन परिसुचक २९.६ अंकले घटेको थियो । र, यो सालको कारोबार बन्द भएको दिन अर्थात चैत ३० गते पनि नेप्से परिसुचक २९.०७ अंकले घटेको छ ।

वर्षभरिमा नेप्से परिसुचक ४८०.७८ अंकले घटेको छ । २०७९ सालको कारोबार खुल्दा नेप्से परिसुचक २४१५.२५ विन्दुमा थियो । कारोबार खुलेको पहिलो दिन परिसुचक २९.६ अंकले घटेर २३८५.६५ विन्दुमा पुगेको थियो ।

nepse-2079-0-01681379205.JPG

२०७९ सालको अन्तिम कारोबार दिन पनि नेप्से परिसुचक २९.०७ अंकले घटेको छ । यसरी घटेपछि नेप्से परिसुचक १९३४.४७ विन्दुमा आइपुगेको छ । अर्थात २०७९ साल पुँजी बजारका लगानीकर्ताको लागि नोक्सानीको वर्ष भएको छ ।

नेप्सेका अनुसार आज २८ कम्पनीका सेयर मूल्य बढेका छन् । तर, १८६ कम्पनीका सेयरको मूल्य भने घटेको छ । ४ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । 

बजार घटेपनि आदर्श लघुवित्त, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । नेप्सेले बनाएका १४ वटा उपसमुहमध्ये सबै उपसमुहको सुचक घटेका छन् । यसमध्ये पनि विकास बैंक समुहको उपसुचक सबैभन्दा बढी २.४८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्