सुदूरपश्चिम विश्वविद्यालयल् पाँच आंगिक क्याम्पस थप्ने

मंगलबार, चैत २८, २०७९

सुर्खेत –सुदूरपश्चिम विश्वविद्यालयले पाँच आंगिक क्याम्पस थप्ने भएको छ ।

विश्वविद्यालयको विशेष साधारणसभाले बझाङका दुई, बैतडी, डडेल्धुरा र कञ्चनपुरका एक÷एक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले जानकारी दिए । 

उनकाअनुसार कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस र बझाङदीप बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय भएको हो ।

सरकारले दरबन्दी स्वीकृतलगायतका प्रक्रिया टुंग्याएपछि मात्रै ती क्याम्पस विश्वविद्यालयको मातहतमा आउनेछन् । ‘यो विश्वविद्यालयकोतर्फबाट भएको निर्णय हो, दरबन्दी स्वीकृतलगायतका विषय सरकारसँग जोडिएका छन,’ सूचना अधिकारी बिष्टले भने ।

२०७४ सालमा पनि विश्वविद्यालयले सुदूरपश्चिममा ६ आंगिक क्याम्पस थप्ने निर्णय गरेको थियो । त्यसबेला कञ्चनपुरको दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पस, कैलालीको सुख्खड बहुमुखी क्याम्पस, लम्की बहुमुखी क्याम्पस, डोटीको केदारज्योति बहुमुखी क्याम्पस र दार्चुलाको शंकरपुर बहुमुखीलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो ।

सरकारले दरबन्दी स्वीकृत लगायतमा कुनै निर्णय नगर्दा ती क्याम्पस अझै सुदूरपश्चिम विश्वविद्यालय मातहत आउन सकेका छैनन्। वि.सं. २०६८ सालमा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको एक केन्द्रीय क्याम्पस र १५ आंगिक क्याम्पस सञ्चालनमा छन्।

अहिले टीकापुर बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, त्रिवेणी बहुमुखी, घण्टेश्वर सेती महाकाली, जनता बहुमुखी, जयपृथ्वी बहुमुखी, बडिमालिका क्याम्पस, मणिलेक बहुमुखी र पाटन बहुमखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस छन्।

यस्तै, जगन्नाथ बहुमुखी क्याम्पस, गोकुलेश्वर बहुमुखी, कैलाली बहुमुखी, सीताराम बहुमुखी र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया सुदूरपश्चिम विश्वविद्यालयसँग आबद्ध छन्।

सुदूरपश्चिम विश्वविद्यालयमा चार सय ९१ जना प्राध्यापक र एक सय ७९ कर्मचारी छन् । २३ हजार तीन सय ९९ विद्यार्थी विश्वविद्यालयमा अध्ययनरत रहेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्