रोल्पाका कृषकले भुक्तानी पाउन बाँकी

मंगलबार, चैत २८, २०७९

रोल्पा– जिल्लाका कृषक आन्दोलित भएका छन् । कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका हुन् । 

आर्थिक वर्ष २०७८-७९ मा सम्झौता भई काम सम्पन्न भए पनि रकम अझैसम्म भुक्तानी नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रबाट अघिल्लो आवमा रु तीन करोड २५ लाख ५९ हजार कृषकलाई भुक्तानी दिन बाँकी थियो । 
लुम्बिनी प्रदेश सरकारले भुक्तानी दिए पनि सङ्घीय सरकारले रु एक करोड ५७ लाख नौ हजार दिन बाँकी रहेको कृषक बताउँछन् । 

‘चालु आव सकिन लाग्दासमेत अघिल्लो वर्षको रकम भुक्तानी पाएका छैनौँ,’ आन्दोलनरत कृषक त्रिपनी वैजाली मगरले बताए । कृषकले प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत १२ ब्लकको र छ प्राङ्गारिक प्रवद्र्धन कार्यक्रमको रकम पाउन बाँकी छ । कृषकको रकम भुक्तानीका लागि आफूहरू सबै निकायमा पुगेको तर भुक्तानी प्रक्रियामा उदासिनता देखाउदा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । 

‘सङ्घीय सरकारको कृषि मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री आधुनिक कृषि परियोजनालगायतका विभिन्न निकायमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएन,’ उनले भने । आफूहरूको मागप्रति राजनीतिक दल पनि उदासिन रहेको कृषकको गुनासो छ । कृषि ज्ञान केन्द्रमा लामो समयदेखि कार्यालय प्रमुख छैनन् । 

तत्कालीन कार्यालय प्रमुख राहुल पाण्डे सरुवा भएपछि आएका अरविन्दमणि त्रिपाठीसमेत कार्यालयमा अनुपस्थित भएपछि कार्यालय प्रमुखविहीन बनेको हो । 
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्