इलाम साहित्य महोत्सवमा राजनीतिबारे बहस

मंगलबार, चैत २८, २०७९

मंगलबारे– पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा साहित्यको अवस्था, नयाँ पुस्ताको झुकाव तथा साहित्यसँगै जोडिएका विषयवस्तुबारे विश्लेषण गरिएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको ‘अङ्क, अर्थ र आध्यात्म’ विषयमा प्रस्तुति रहेको थियो । 

यस्तै नेकपा (एकीकृत  समाजवादी)का महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीच ‘राजनीतिमा एजेण्डा कि अनुहार’ विषयमा राजनीतिक बहस भएको थियो ।  युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालबीच ‘लेखन सफल कि सार्थक’ विषयमा संवाद चलेको थियो ।
 
कवित्रय तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिन बीचमा ‘कवितामा स्थानीय चेत’का विषयमा संवाद भएको थियो । कुमार नगरकोटीले कविता वाचन गरेका थिए ।

साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । साथै साँझ विभिन्न जिल्लाबाट आउनुभएका गजलकारले गजल वाचन गरेका थिए । 

महोत्सवमा क्यानभास क्लेवरा कार्यक्रम राखिएको थियो । यसमा इलामस्थित चियाबारीमा चित्रकारले लोपोन्मुख रेडपान्डाको चित्रकला बनाएका थिए । रेडपान्डाको संरक्षणबारे चेतना जगाउन चित्रकला प्रदर्शन गरिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०८:१५
प्रतिक्रिया दिनुहोस्