युवाको उमेर १६ देखि ३५ वर्ष राख्नेबारे छलफल

सोमबार, चैत २७, २०७९

काठमाडौँ- नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ । 

अहिले युवाको उमेर १६ देखि ४० वर्ष मानिँदै आएकोमा अब युवा १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 

उनका अनुसार सरकारी र विभिन्न सरोकारावाला निकायबीच युवाको उमेर पाँच वर्ष घटाउनेबारे छलफल सुरु भएको हो । “संयुक्त राष्ट्रसङ्घ र विश्वमा भएको अभ्यासका आधारमा नेपालमा पनि युवाको उमेर कम गर्ने भन्ने बारेमा छलफल सुरु भएको छ”, उनले भने, “१६ देखि ३५ वर्षबीचको उमेरलाई युवा भन्ने विषयमा छलफल भएको हो । चाँडै निष्कर्षमा पुग्छौँ ।”

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ र राष्ट्रिय युवा नीति, २०७२ ले युवाको उमेर  १६ देखि ४० वर्षको उमेर समूहलाई परिभाषित गरेको छ ।

संयुक्त राष्टसङ्घ र विश्व बैंकले युवाको उमेर १५ देखि २४ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ । कार्यकारी उपाध्यक्ष बस्नेतले अधिकांश देशमा युवाको उमेर ३५ वर्षसम्म राखिएकाले नेपालमा पनि १६ देखि ३५ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गर्नुपर्ने सुझाव आएको बताए । 

विभिन्न देशमा युवाको परिभाषा पनि फरक फरक रहेको छ । भारतमा १६ देखि २९ वर्ष, चीनमा १८ देखि ३५ वर्ष, बङ्गलादेश र फिलिपिन्समा १५ देखि ३० वर्ष, जर्मनीमा १४ देखि २६ वर्ष, दक्षिण अफ्रिकामा १५ देखि २९ वर्षका उमेर समूहलाई युवाको रुपमा परिभाषित गरिएको छ । 

नेपालमा पनि सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन नसकिरहेको छैन । ‘युथ भिजन–२०२५’ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ ।

युवाको जनसङ्ख्या पनि बढ्यो    

नेपालमा युवाको जनसङ्ख्या बढेको छ । दश वर्षमा दुई दशमलव २१ प्रतिशतले युवाको जनसङ्ख्या बढेको पाइएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत पुगेको छ । अर्थात् युवाको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार एक सय ७३ रहेको छ ।

यसभन्दा अघि विसं २०६८ को जनगणनामा युवाको जनसङ्ख्या ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड छ लाख ८९ हजार आठ सय ४२ रहेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्