‘वुहान’ डाटा सार्वजनिक, चिनियाँ समुद्री खाना तथा वन्यजन्तुबाट कोराना भाइरस फैलिएको आशंका

शुक्रबार, चैत २४, २०७९

काठमाडौं –चीनका अनुसन्धानकर्ताहरूको टोलीले सुरुमा कोरोना पत्ता लागेको वुहानबाट तीन वर्षअघि लिइएका नमूनाहरूको विश्लेषण प्रकाशित गरेको छ । 

वुहान सहरको हुआनान समुद्री खाना तथा वन्यजन्तु बजार कोरोना भाइरसको उत्पत्तिबारे खोज गर्ने अनुसन्धानको केन्द्रमा रहेको छ ।

यसै बजारबाट २०२० मा संकलन गरिएको जैविक प्रमाणको समीक्षासहितको खोज अध्ययन सार्वजनिक नेचर जर्नलमा सार्वजनिक भएको हो । सार्वजनिक हुनुअघि यो अध्ययनलाई अन्य वैज्ञानिकहरूले पनि प्रमाणित गरेका छन् ।

यसले हुआनान समुद्री खाना तथा वन्यजन्तु बजारमा बेचिएका जनावरहरूबाट कोराना भाइरस फैलिएको हुनसक्नेतर्फ पनि यसको उत्पत्तिको अनुसन्धानलाई मोड्नसक्ने देखिएको छ ।

यो अनुसन्धानले कोरोना भाइरसको लागि पोजेटिभ देखिएका स्वावहरूमा जंगली जनावरहरूको आनुवंशिक सामग्री पनि भेटिएको देखिएको छ ।

यसलाई आधार मान्दै केही वैज्ञानिकहरूले कोभिड–१९ सुरुमा संक्रमित जनावरबाट मानिसमा सरेको प्रमाण हुनसक्ने टिप्पणी समेत गरेका छन् । तर, अरूले नतिजाहरूको व्याख्या गर्न सावधानी अपनाउन आग्रह गरेका छन् ।

संकलन गरिएका नमुनाहरूको आनुवंशिक सामग्री सार्वजनिक गर्न तीन वर्ष किन लाग्यो भन्ने कुरा स्पष्ट छैन । चिनियाँ अनुसन्धान टोलीले २०२२ को फेब्रुअरीमा आफ्नो अध्ययनको प्रारम्भिक संस्करण अनलाइनमा पोस्ट गरेको थियो । तर, त्यतिबेला वुहानको बजारबाट संकलन गरिएका नमुनाहरूको पूर्ण आनुवंशिक जानकारी सार्वजनिक गरिएको थिएन ।

यसमा समावेश गरिएका नमुनाहरू बजार भित्रका स्टल, भुँइ, पिजरा र मेसिनरीहरूबाट संकलन गरिएको थियो । चिनियाँ अनुसन्धानकर्ताहरूले संक्रमित जनावरबाट मानिसमा कोरोना भाइरसको संक्रमण फैलिएको हो भन्न नसकिने बताएका छन् ।

उनीहरूले संक्रमित मानिसबाट नै पनि बजारका जनावर र अन्य मानिसमा संक्रमण फैलिएको हुनसक्ने बताएका छन् । यसअघि वुहानको प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आशंकाको तथ्यसमेत खोजको विषय बनेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्