नेभिगेशन
विश्व

अल–अक्सा मस्जिदमा फेरि झडप

जेरुसेलम– इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् ।

प्यालेस्टाइनी रेड क्रिसेन्टले जारी गरेको विज्ञप्तिमा कम्तीमा ६ जना घाइते भएको जनाइएको छ ।

इस्लामिक परोपकारी संस्था वक्फका अनुसार मस्जिद परिसरको संवेदनशील क्षेत्रमा प्रहरीले स्टन ग्रेनेड र रबरको गोली प्रयोग गरेर उपासकहरूलाई तितरबितर पारेको थियो ।

प्यालेस्टिनी सरकारी समाचार संस्था वाफाका अनुसार करिब २०० उपासकहरू रमजान रात तरावीहको प्रार्थना गरिरहेका बेला प्रहरीले परिसरमा आक्रमण गरेको थियो ।

इजरायली प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कानुन उल्लङ्घन गर्ने दर्जनौं युवाहरूले दङ्गा भड्काउन मस्जिदभित्र अवरोध गर्ने प्रयास गरेका र ती युवाले मस्जिदको ढोका बन्द गर्ने प्रयास गरेपछि सुरक्षा फौज मस्जिदभित्र पसेका थिए ।’

विज्ञप्तिमा भनिएको छ, ‘कानुन उल्लङ्घन गर्नेहरूले उक्साउन नारा लगाउने पटाका पड्काउने र घटनास्थलमा कार्यरत प्रहरी अधिकारीहरूमाथि बोतल, काठ, ढुङ्गा र इटाका टुक्राहरूले आक्रमण गरेपछि स्थिितिलाई नियनत्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो ।’ 

इजरायली आक्रमणको मुस्लिम विश्व र संयुक्त राष्ट्रसङ्घबाट निन्दा भएको छ । 

हजारौं मुस्लिम धर्मावलम्बीले रमजानको महिनालाई पहाडको टुप्पोमा रहेको मस्जिद परिसरमा प्रार्थना गरेर मनाउने संवेदनशील बिदाको समयमा हिंसा भड्किएको थियो ।

परिसरको तल, सयौं यहूदी तीर्थयात्रीहरूले निस्तार चाडको छुट्टी मनाउँदै पश्चिमी पर्खालमा प्रार्थना गर्छन् । मुस्लिमहरूको लागि तेस्रो पवित्र स्थल र यहुदीहरूको लागि सबैभन्दा पवित्र स्थान अल–अक्सा मस्जिद परिसर पूर्वी जेरुसलेममा अवस्थित छ । 

यो स्थल पूर्वी जेरुसेलमको पुरानो शहरमा पर्छ । यो क्षेत्र इजरायलले सन् १९६७ को मध्य पूर्व युद्धमा पश्चिम किनारा र गाजा पट्टीको बाँकी भागसहित कब्जा गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट