बार्सिलोनाले घरेलु मैदानमै भोग्यो प्रमुख प्रतिद्वन्द्वीसँग लज्जास्पद हार

रियल फाइनलमा
बिहीबार, चैत २३, २०७९

काठमाडौँ– बार्सिलोनाले आफ्नो प्रमुख प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग घरेलु मैदानमै लज्जास्पद हार भोगेकोे छ । 

स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले गएराति क्याम्प नाऊमै रियलसँग ४–० को लज्जास्पद हार ब्यहारेको हो ।

सेमिफाइनलको दोस्रो लेगमा चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई सजिलै हराएको रियल कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

रियलले बार्सिलोनाविरुद्ध समग्रमा ४–१ को जित निकालेको हो । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो ।

रियलको जितमा करिम बेन्जेमाले ह्याट्रिक गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । त्यसपछि बेन्जेमाले ५० औँ मिनेटमा गोल गरेर २–० को अग्रता दिलाए ।

यस्तै, प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै बेन्जेमाले नै ५८ औँ मिनेटमा गोल गरेपछि रियलले ३ गोलको अग्रता लियो । खेलको ८० औँ मिनेटमा बन्जेमाले नै गोल थप्दै ह्याट्रिक पूरा गरेपछि रियलले खेल ४–० ले जितेको हो । 

रियल र बार्सिलोना स्पेनिस फुटबलका प्रमुख प्रतिद्वन्द्वी हुन् । यी दुईबीचको हारजितलाई प्रतिष्ठाको रूपमा हेर्ने गरिन्छ । यस्तोमा बार्सिलोनाले घरेलु मैदानमै लज्जास्पद हार ब्यहारेको छ । रियलले पनि यसअघि पहिलो लेगमा आफ्नै मैदानमा भोगेको हारको बदला लिएको छ । 

अब रियलले उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मे ६ मा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्