‘कान्छी’ प्रधानमन्त्रीले गरिन् पार्टी अध्यक्ष र सरकार दुवैबाट हट्ने घोषणा 

बिहीबार, चैत २३, २०७९

हेलसिन्की– फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्षपदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । 

उनले पार्टी प्रमुखको जिम्मेवारीबाट राजीनामाको घोषणा गरे पनि आगामी सेप्टेम्बरमा हुने पार्टीको अधिवेशनबाट अर्को अध्यक्षको चयन नहुँदासम्म उक्त जिम्मेवारीमा रहने बताएकी छिन् । 

आइतबार सम्पन्न संसदीय निर्वाचनमा उनको दल कन्जरभेटिभ नेसनल कोलिसन पार्टी र दक्षिणपन्थी फिन्स पार्टीभन्दा पछि अर्थात् तेस्रो स्थानमा आएको छ ।

मरिनले संसद्मा साधारण सांसदको रूपमा रहनुभन्दा पहिले नयाँ सरकार गठनका बारेमा परामर्शमा आफ्नो पार्टीको नेतृत्व गर्ने बताउँदै आफूले आज प्रधानमन्त्रीबाट राजीनामा दिने र कामचलाउ हैसियतमा रहने बताइन् । 

मरिनले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफू राष्ट्रपतिपदका लागि उम्मेदवारी नदिने बताएकी छिन् । 

सन् २०१९ को अन्त्यतिर मारिनले आफ्ना पूर्ववर्ती एन्टी रिन्नेको राजीनामापछि प्रधानमन्त्री पद सम्हालेकी थिइन् । 

फिनल्यान्डमा नयाँ सरकार गठनका लागि आगामी हप्तादेखि नेसनल कोलिशन पार्टीका प्रमुख पेट्टेरी ओर्पोको नेतृत्वमा वार्ता सुरु हुने भएको छ ।

३७ वर्षीया मरिन विश्वकै कान्छी प्रधानमन्त्री हुन् । उनी ३४ वर्षकै उमेरमा प्रधानमन्त्री बनेकी थिइन् । 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्