पोखरामा ‘आलु महोत्सव’ आइतबारदेखि 

सोमबार, चैत २०, २०७९

गण्डकी– एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ ।

पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ ।

व्यावसायिक कृषिको प्रवद्र्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए । आलुलगायत ताजा तरकारीको बहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहनेछन् ।

किसानलाई लक्षित गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बिउविजन, कृषियन्त्र, उपकरण आदिको प्रर्दशनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुती, कृषक सम्मानलगायतका कार्यक्रम पनि राखिएको छ ।

महोत्सव अवलोकनमा जाने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिने आयोजकले जनाएको छ । कृषिका तीस वटा व्यावसायिक ‘स्टल’ रहनेछन् । अन्य व्यापारिक ‘स्टल’ ८० वटा रहने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

‘कृषकलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराउँछौँ’, उनले भने, ‘मुख्यगरी कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव राखिएको हो ।’

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्