थ्री स्टारले जित्यो खप्तड गोल्डकपको उपाधि 

आइतबार, चैत १९, २०७९

कैलाली– धनगढीमा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । 

शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारलाई उपाधि दिलाउन विक्रम लामा र अनिल महर्जनले गोल गरे । 

खेलको ७३औँ मिनेटमा अनिल महर्जनले फ्री किकमार्फत थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा विक्रम लामाले हेड गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे । 

फाइनल खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका अनिल महर्जन चुनिए । उनले रु १० हजार पुरस्कार पाए । उपाधिसँग थ्री स्टारले रु २१ लाख प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले रु १० लाख पाएको छ । विधागत तर्फको पुरस्कारमा थ्री स्टारको वर्चश्व रह्यो । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान विक्रम लामा बने । उनले नगद रु एक लाख पुरस्कार पाए । उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे । उत्कृट डिफेण्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट  प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे । 

उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधिक गोलकर्ता मनाङका सायीजमल घोषित भए । विधागत तर्फका उत्कृष्टले जनही रु १५ हजार प्राप्त गरे । सुदूरपश्चिम–११ का दीपेन्द्र मलासी उदयमान खेलाडी चुनिए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरे । 
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार
थप समाचार