स्वर्णिमको विद्रोहप्रति बाबुरामको टिप्पणी– झारफुकले हुँदैन, गम्भीर संरचनात्मक सुधारको आवश्यकता छ

शनिबार, चैत १८, २०७९

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट गरेको विद्रोहप्रति टिप्पणी गर्दै पार्टीहरूमा गम्भीर र शल्यक्रियाको आवश्यकता भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आज ट्विट गर्दैअब सामान्य झारफुकले समस्या समाधान नहुने स्पष्ट पारेका छन् ।

उनले ठूलो राजनीतिक क्रान्तिपछि पनि कुशासन र भ्रष्टाचार मौलाइरहेको बताउँदै उनले समस्या धेरै गहिरा र संरचनात्मक प्रकृतिका भएको बताएका छन् ।

‘ठूलो राजनीतिक क्रान्तिपछि पनि कुशासन र भ्रष्टाचार मौलाइरहेको यस्ता कुराहरूमा सार्वजनिक बहस हँदा राम्रै हुन्छ । हाम्रा समस्या धेरै गहिरा र संरचनात्मक प्रकृतिका छन् । सतही झारफुक होइन, गम्भीर संरचनात्मक सुधार अथवा शल्यक्रियाकै आवस्यकता छ,’ उनले लेखेका छन् ।

वाग्लेले बिहीबार कांग्रेस परित्याग गरेको औपचारिक घोषणा गरेका थिए । उनले तनहुँ–१ बाट उपनिर्वाचन लड्न राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकटसमेत पाइसकेका छन् ।

पार्टी छाड्दै गर्दा वाग्लेले कांग्रेस दाइ–भाउजु, साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप लगाएका थिए ।

यसअघि पनि भट्टराईले वाग्लेको विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने बताएका थिए ।

‘स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन् । तर यसलाई यत्तिकै हल्काफुल्का रुपमा पन्छाउनु उचित हुनेछैन,’ भट्टराईले भनेका थिए, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊँ ।’

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्