Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिँग्रदो अर्थतन्त्रले पाकिस्तान छोड्दै पाइलट

शुक्रबार, चैत १७, २०७९

काठमाडौं –पाकिस्तानमा उत्पन्न आर्थिक संकटको प्रभाव अहिले हरेक क्षेत्रमा देखिएको छ । ठूलो संख्यामा पाइलटहरूले देश छोडेका पाकिस्तानको संसद्को उड्डयन समितिलाई जानकारी दिइएको छ ।

आफ्नो तलबमा ठूलो कटौती हुने डरले उनीहरू त्रासमा छन् । पाकिस्तान सरकारले पाइलटहरूलाई पारिश्रमिकमा ३५ प्रतिशत कर लगाएको छ । यसबाट पाइलटहरू असन्तुष्ट भएका छन ्।

पाकिस्तान इन्टरनेशनल  एयरलाइन्स (पीआईए) का सीईओ अमिर हयातले हालै १५ जना पाइलटले देश छाडेको बताएका छन् ।

हयातले पीआईएले नयाँ पाइलट भर्ती गर्न चाहेको तर स्वीकृति नपाएको गुनासो गरेका छन् । समितिका अध्यक्ष सिनेटर हिदायतुल्लाले पाइलट बन्ने सपना देख्नेहरूको भविष्य संकटमा पर्न सक्ने बताए ।

उनले पाकिस्तानी सांसदहरूलाई यो करको सम्पूर्ण विषय सरकारी नियामक निकायमा उठाउन अपिल गरे । नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई हवाई क्षेत्र नदिएको कारणबारे सिनेट समितिलाई जानकारी गराइएको थियो ।

पाकिस्तानले धेरै विदेशी एयरलाइन्स कम्पनीहरूको डलर रोकेको छ । आफूसँग डलर सञ्चिति नभएको भन्दै विदेशी वायुसेवाको डलर लान दिएको छैन ।

त्यसैले विदेशी वायुसेवाले पाकिस्तानी ग्राहकलाई डलरमा टिकट किन्न आग्रह गरिरहेका छन् । यात्रुहरूले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर टिकट खरिद गरिरहेका छन् । जसका कारण उनीहरूले पाकिस्तानमा किनेको टिकटभन्दा कम मूल्यमा टिकट पाउँदै आएका छन् ।

पाकिस्तानले गरिबी घटाउन भन्दै हवाई टिकेटमा अत्यधिक कर बढाएको छ । यति मात्र होइन, समितिको बैठकमा पीआईएका १४१ पाइलटको लाइसेन्स पनि शंकास्पद रहेको खुलासा भएको छ ।

यसअघि पाकिस्तानका धेरै पाइलटले पैसा तिरेर विमानचालकको लाइसेन्स लिएको खुलासा भएको थियो । यसपछि धेरै पाइलटको उडानमा प्रतिबन्ध लगाइएको थियो ।

यसै क्रममा पाकिस्तानको सरकारी वायुसेवा पीआईएले अर्बौं रुपैयाँको बक्यौता तिर्न बाँकी रहेको खुलासा भएको छ ।

पाकिस्तान आउने उडान खाली हुने र देश छाड्नेको संख्या लगातार बढिरहेको खुलासा भएको छ । उनीहरूले पाकिस्तानमा आफ्नो भविष्य राम्रो नदेखेको बताउने गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्