बाढीको पूर्व सूचना दिने प्रणाली जडान

शुक्रबार, चैत १७, २०७९

रौतहट–रौतहटमा बाढीको पूर्व चेतावनी दिने सूचना प्रणाली जडान गरिएको छ ।

वर्षा र बाढीको समयमा बाढीबाट हुन सक्ने मानवीय र गैर मानवीय क्षति कम गर्न गौरस्थित जिल्ला प्रशासन कार्यालयमा सूचना प्रणाली जडान गरिएको हो । बाढीबाट जोगिन पूर्व चेतावनी प्रणाली (साइरन) जडान गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

माण्डवी संस्थाको पहलमा इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले जिल्ला प्रशासन कार्यालय गौरको भवनको छतमा बाढी पूर्व चेतावनी प्रणाली (साईरन) जडान गरिदिएको हो । साईरन बजेको एक किलोमिटरसम्म सुन्न सकिन्छ । 

हरेक वर्ष वर्षाको समयमा डुबानबाट ठुलो क्षति ब्यहोर्दै आएको रौतहटवासीका लागि पूर्व चेतावनी प्रणाली (साईरन) जडान भएपछि सचेत गराउने छ ।

ईसिमोडले यसअघि बाराको लालबकैया नदीमा बाढी मापन यन्त्र र त्यही रहेको सशस्त्र प्रहरीको क्याम्पमा पूर्व सूचना प्रणाली (साईरन) जडान गरिसकेको छ । 

बाराको निजगढ नगरपालिका –३ धन्सार खोलाका वर्षा मापन गर्न यन्त्र जडान भइसकेको छ । यस्तै लालबकैयामा पनि बाढी नाप्ने यन्त्र पनि जडान गरिएको छ । यसले चुरे क्षेत्रबाट बग्ने पानीको मात्रा रेकर्ड गर्छ ।

गौर, कटहरिया, परोहा, गौर, मौलापुर, बौधीमाई, फतुवा विजयपुर लगायत बकैया नदीबाट प्रभावित ११ वटा नगरपालिकाका प्रमुखहरूलाई बोलाएर समुदायमा आधारित बाढी पूर्व चेतावनी प्रणाली (साईरन) बारे जानकारी गराइएको छ ।

गौरका साथै ईशनाथको बन्जाराहा, बौधीमाई, लौकाहा, कहटहरिया क्षेत्र, र बागमती नदीको समनपुर, धरमपुर, लक्ष्मीपुर बाढीको जोखिममा छन् ।

बढी पूर्व सूचना प्रणाली (साइरन) ले बाढीको जानकारी गराएपछि सर्वसाधारणलाई सचेत हुन सहयोग पुग्ने गौरका नगर प्रमुख शम्भु साहको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्