विद्यार्थीलाई भयरहित रूपमा परीक्षा दिने व्यवस्था मिलाएका छौँ : परीक्षाकेन्द्र प्रमुख महर्जन

शुक्रबार, चैत १७, २०७९

काठमाडौँ– आजबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । आज बिहान ८ बजेबाट देशभर एकसाथ एसइई सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रूपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।

आजै वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कुल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी छन् ।

यस वर्षको एसइईमा सहभागी हुनका लागि २०७८ सालमा कक्षा ९ मा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ रहे पनि  कक्षा १० मा आइपुग्दा परीक्षामा सहभागी हुन आवेदन दिने विद्यार्थी चार लाख ८४ हजार २ सय २७ जना भएका थिए ।

नेपालबाट रोजगारीका लागि जापान पुगेका नेपाली नागरिकका १४ जना छोराछोरीले जापानबाटै परीक्षा दिँदैछन् । 

परीक्षामा सबैभन्दा धेरै वागमती प्रदेशमा १ लाख ६ हजार ९ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिव १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । 

परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार ९ सय ८२ विद्यार्थी र ५० दृष्टिबिहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् । 

परीक्षा सुरु भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौँको टेकुस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयकी परीक्षाकेन्द्र प्रमुख रविना महर्जनले परीक्षा केन्द्रमा सबै विद्यार्थीलाई भयरहीत वातावरणमा परीक्षा दिने व्यवस्था मिलाउन निर्देशन दिएको बताइन् । परीक्षा केन्द्रका रुपमा बिहीबार नै सबै तयारी सकेकाले आज समयमा नै परीक्षा सुरु भएको उनको भनाइ छ ।

यस वर्ष ७ हजार २०० सामुदायिक र चार हजार ५६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् । एसइईमा गत वर्ष देशभरबाट पाँच लाख १८ हजार एक१८५ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षामा भने चार लाख ९५ हजार छ सय ४८ विद्यार्थी सहभागी भएका थिए । चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्