विराट गोल्डकप फुटबलको फाइनल बिहीबार

बुधबार, चैत १५, २०७९

विराटनगर –सातौँ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल बिहीबार हुँदैछ । उपाधिका लागि पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी भिड्ने छन् । 

विराटनगरको सहिद रंगशालामा हुने फाइनल खेलमा उपाधि जित्ने  रणनीतिसहित दुवै टिम मैदानमा उत्रिने तयारीमा छन् । बिहीबार साँझ ६ः४५ बजे सुरु हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक यो उपाधि जित्ने लक्ष्यमा छ भने अर्कातिर घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रो पटक गोल्डकप घरमै राख्ने दाउमा छ । घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुगेको हो । 

विराटनगरले पूर्वविजेता नेपाल पुलिस र जावलाखेललाई पन्छाउँदै फाइनल यात्रा तय गरेको हो । 

यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्ड कपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपविजेता भएको थियो । त्यस बेला पहिलो उपाधि भारतको कलकत्ताले जितेको थियो । २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । 

विराटनगरमा बुधवार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

चैत ९ देखि सुरु भएको रात्रिकालीन गोल्डकपको विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्