आयोजक जर्मनीको युरोकप तयारीमा धक्का, बेल्जियमसँग घरमै पराजित

बुधबार, चैत १५, २०७९

काठमाडौँ– सन् २०२४ मा हुने युरोकप फुटबल प्रतियोगिताको आयोजक जर्मनीको तयारीमा धक्का लागेको छ ।

जर्मनीलाई बेल्जियमले घरमै पराजित गरेपछि युरोकपको तयारीमा धक्का पुगेको हो ।

गत विश्वकपमा भएको खराब प्रदर्शनलाई बिर्सँदै जर्मनी घरमै हुन लागेको युरोकप जित्ने सुरमा रहेको छ । तर, तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा जर्मनी बेल्जियमसँग हारेपछि प्रश्नचिन्ह खडा भएको विश्लेषण गरिएको छ ।   

मिडफिल्डर केभिन डि ब्रुयनेले एक गोलसँगै दुई असिस्ट प्रदान गरेपछि बेल्जियमले जर्मनीमाथि गएराति ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो ।

बेल्जियमको जितमा ब्रुयनेसँगै यानिक कारास्को र रोमेलु लुकाकुले १–१ गोल गरे । जर्मनीका निकलस फुलक्रुग र सर्ज जिनाब्रीले १–१ गोल फर्काए ।

कोल्नमा गएराति भएको खेलको छैटौँ मिनेटमा नै कारास्कोको गोलबाट बेल्जियमले १–० को अग्रता लिन सफल भएको थियो । उनले ब्रुयनेको पासमा गोल गरेका थिए । नवौँ मिनेटमा फेरि ब्रुयनेकै पासमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए ।

तर, ४४ औँ मिनेटमा फुलक्रुगले पेनाल्टीमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । 

यद्यपि, ७८ औँं मिनेटमा ब्रुयनेले गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए । उनले लियान्द्रो ट्रोससार्डको पास सदुपयोग गरेका थिए ।

त्यसपछि खेलको ८७ औँ मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै खेललाइ ३–२ को स्थितिमा ल्याए । तर, थप गोल निस्कन नसक्दा घरेलु टोली जर्मनीले बेल्जियमलाई नतिजा सुम्पियो । अब जर्मनीले घरेलु मैदानमा उपाधि जित्न धेरै पक्षमा सुधान गर्नुपर्ने विश्लेषण गरिएको छ । 

जर्मनी स्पेनसँगै युरोकपको सर्वाधिक विजेता टोली हो । दुवैले ३–३ पटक उपाधि जितेका छन् । 

यसअघिको मैत्रीपूर्ण खेलमा भने जर्मनीले पेरूलाई २–० ले हराएको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्