नदी प्रदूषित गर्ने उद्योगलाई जरिवाना

मंगलबार, चैत १४, २०७९

वीरगन्ज –सिर्सिया नदी प्रदूषित गर्ने ५ वटा उद्योग कारवाहीमा परेका छन् । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदीलाई प्रदुषित बनाउने ५ वटा उद्योगलाई कारवाही गर्दै १५ लाख रुपैयाँ जरिवाना गरेको छ । 

महानगरपालिकाले वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका ५ वटा उद्योगलाई ३÷३ लाखका दरले जरिवाना गरेको हो । 

वीरगन्ज महानगरपालिका–२१ मा रहेको ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा –३२ मा रहेको दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई जरिवाना गरिएको हो ।

नदी प्रदूषित गरेका ५ वटै उद्योगलाई मंगलबार पत्राचार गर्दै ७ दिनभित्र जरिवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए । 

७ दिनभित्र जरिवाना बापतको रकम नबुझाएमा प्रचलित कानुनअनुसार ती उद्योगहरू विरुद्ध थप कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको पत्रमा उल्लेख छ ।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताए । 

यसअघि महानगगरले १६ फागुनमा उद्योगहरूबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १÷१ हजार रुपैया जरिवाना तिराएको थियो ।

करिब ३ दशकदेखि प्रदूषणको चपेटामा परेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन महानगरपालिकाले विगत २ महिना यता अभियान चलाइरहेको छ ।

अभियान अन्तर्गत नै महानगरले उपप्रमुखको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले पटक पटक अनुगमन गरेको छ ।

अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरूले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु) सिधै नदीमा फाल्दै आएको भेटिएको थियो ।

बाराको सिमराभन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको र्सिसिया नदी वीरगन्ज सहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । 

औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिँदा दुर्गन्धित बनेको हो । 

नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब १दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन् ।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले नदी अनुगमन समिति गठन गरेको थियो ।  

समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरू नै रहेको उल्लेख थियो । प्रतिवेदनमा नदी प्रदूषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरूको नामै किटान गरिएको थियो ।

समितिको प्रतिवेदनमा नदी प्रदूषित बनाउनेमा औद्योगिक करिडोरका ४६ वटा उद्योगहरूको नाम किटान गरिएको थियो ।

समितिले २२ मङ्सिर २०६७ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई प्रतिवेदन बुझाएको थियो । नदीको प्रदूषण रोक्न माग गर्दै १ दशकयता विभिन्न संघसंस्था र अभियन्ताहरूले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आइरहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्