सभामुखको पहलमा सडक निर्माणको काम अघि बढ्यो

मंगलबार, चैत १४, २०७९

बिर्तामोड – सभामुख देवराज घिमिरेको पहलमा झापाका रणनीतिक महत्वका सडकहरूको निर्माण कार्य अघि बढेको छ ।

पटक–पटक म्याद थप गर्दै निर्माण सम्पन्न नभएका सडक आयोजनालाई पूरा गर्न सभामुखले सडक विभागका अधिकारीहरुसँग ताकेता गरेका थिए । सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलका अनुसार सभामुखले चासो लिएका ४ मध्ये ३ सडकको काम तोकिएकै समयमा पूरा गर्न काम अघि बढाइएको हो । बिर्तामोड–कप्तानबारी सडकको म्याद अझै १ वर्ष बाँकी छ भने बाँकी ३ वटा सडक भने असार मसान्तसम्म पूरा हुने उनले बताए ।

सभामुख घिमिरेले प्रमुख पौडेललाई रकमको अभाव हुन नदिने बताउँदै निर्माणाधिन सडक पूरा गर्न निर्देशन दिए । ८ चैतमा झापा पुगेका सभामुख घिमिरेले बिर्तामोड–कप्तानबारी सडकको स्थलगत अवलोकनसमेत गरेका थिए । उनले जनप्रतिनिधि र स्थानीयबासीसँग भेट गर्दै सडक लगायतका भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए ।

सभामुख घिमिरेले सैनिकमोड–गोलधाप सडक, शनिश्चरे–जयपुर सडक, बिर्तामोड–चन्द्रगढी सडक र बिर्तामोड–कप्तानबारी सडक असार मसान्तसम्म पूरा गर्न निर्देशन दिए । सैनिकमोड–गोलधाप सडक रकम अभावले रोकिए पनि रकमान्तर भएको छ । 

शनिश्चरे–जयपुर सडकमा पनि ह्युमपाइप हाल्ने काम १५ वैशाखमा सकिने डिभिजन सडक प्रमुख पौडेलले जानकारी दिए । ‘सडकको म्याद असार मसान्तसम्म छ,’ उनले भने, ‘बाँकी काम पुरा गर्न हामीले ताकेका गरिरहेका छौं ।’

यस्तै, बिर्तामोड–चन्द्रगढी सडकमध्ये बिर्तामोड देउनिया पुलसम्मको ८ किलोमिटर सडकको काम यही आर्थिक वर्षभित्र पूरा गर्ने निर्माण कम्पनी कन्टेक प्रा.लि.ले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्