पीडितहरू काठमाडौँ आउनु संघीयतामाथि निर्मम प्रश्न : बालेन

मंगलबार, चैत १४, २०७९

काठमाडौं –काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले खुलामञ्च निषेधित क्षेत्र नभएको र हुन पनि नसक्ने बताएका छन् ।

तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहको शाहले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन, ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ वा बर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो । यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’ 

पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको पनि बालेनले भनेका छन् । ‘गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ । यो अवस्थामा संघीय सरकारले अतिशीघ्र चासो दिनु पर्ने हो’, उनले भनेका छन्, ‘यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषदले दिनु पर्ने हो ।’ 

बालेनले पीडितहरूलाई शिविर होइन, न्यायको अनुभूति दिलाएर घर फर्किने वातावरण बनाउनु पर्ने सुझाएका छन् ।

खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिनभन्दा समस्या समाधानको लागि दबाब दिन र त्यसका लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिए पछि उनीहरू बालुवाटारतिर लागेको बालेनको भनाइ छ ।

balen status1679980341.JPG

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्